- ९ माघ २०८०, मंगलवार ०९:३१
१३ वर्षअघि ‘सुइना कर्नालीका’ नाटक लेखेका सुमन मल्ल जीवितै हुन्थे भने आज कथाले अर्कै मोड लिन सक्थ्यो।
नातिनीको उपचारका लागि सुदूर बस्तीबाट सहर निस्कँदा बीचमा वास पर्छ। दुवै भोकै सुत्छन्।
हजुरबुवाले मीठो सपना देख्छन्, समृद्ध कर्णालीको। त्यही कथा नाटकमा बुनिएको थियो।
कथामा त्यहाँका मुख्यमन्त्री संघीय सरकारका प्रधानमन्त्रीलाई ठूलो रकम सहायता दिन्छन्। तर, जब बिहान हुन्छ, भोकै सुतेकी ती रोगी नातिनी कहिल्यै उठ्न नसक्ने गरी आँखा चिम्लिएकी हुन्छन्।
कर्णालीका मुख्यमन्त्री संघीय सरकारलाई ठूलो आर्थिक सहायता दिन सक्ने अवस्थामा त छैनन्। तर, कर्णालीले अब संघीय सरकारलाई चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति भने दिँदै छ।
एमबीबीएसदेखि विभिन्न विधाका विशेषज्ञ चिकित्सकसमेत कर्णालीले आपूर्ति गर्दै छ। देशलाई मात्र होइन, विदेशलाई पनि।
अझ चिकित्सा पढ्न चाहने विदेशी विद्यार्थीका लागि समेत कर्णालीको जुम्ला गन्तव्य बन्दै छ।
अभावको विम्ब बनेको कर्णालीको चित्र उल्टाउने आधार बनेको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला।
३ भारतीय विद्यार्थी भर्ना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढाउन ५० विद्यार्थीको कोटा पाएको छ। यस क्रममा जुम्लाले ३ विदेशी विद्यार्थीलाई स्वागत गर्दै छ ।
यसै शैक्षिक सत्रबाट पढ्ने गरी तीनजना भारतीय विद्यार्थी भर्ना भएका छन्। तीमध्ये २ छात्रा र १ छात्र छन्। दुवै छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका।
योसँगै एमबीबीएसको अध्यापन थालेको पनि तीन वर्ष हुँदै छ र चौथो ब्याच पढ्न सुरु गर्दै छ।
पहिलो वर्ष २० जनाको कोटा पाएको प्रतिष्ठानले त्यसपछिका २ वर्षमा ३०–३० जना भर्ना लियो। यस वर्षबाट चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ।
१३ वटा कार्यक्रम, झण्डै ४ सय विद्यार्थी
कुनै बेला जुम्लामा पनि मेडिकल कलेज चल्छ र भन्दै नाक खुम्च्याउनेहरूका लागि प्रतिष्ठानले गतिलो जवाफ दिएको छ। अहिले चिकित्सा शिक्षाका चारवटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ वटा कार्यक्रम चलिरहेका छन्।
स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन्। स्कुल अफ नर्सिङमा अहिलेसम्म स्नातक मात्रै भए पनि अर्को सत्रबाट स्नातकोत्तर कार्यक्रम थपिँदै छ।
यी सबै कार्यक्रमका लागि झण्डै एक सय शिक्षक–प्राध्यापक खटिएका छन्। अहिले करिब ३ सय विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा यही फागुनबाट ४ सय पुग्ने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल बताउँछन्।
उनकै अनुभवमा, एमबीबीएस, एमडी, बीएस्सी नर्सिङ, बीएनएस, बी फार्मा, एमपीएचलगायत कार्यक्रम चलाउने कुरा गर्दा धेरैले हाँसोमा उडाएका थिए। ती सबै कुरा अहिले सम्भव र सफल भएको उनी सुनाउँछन्।
कार्यक्रम र विद्यार्थी संख्यासँगै अर्को खुसीको कुरा यो हो कि हामीले गुणस्तर पनि राम्रो दिन सफल भएका छौँ,’ उपकुलपति डा. रावल भन्छन्, ‘सम्बन्धित काउन्सिलका परीक्षामा बीपीएच र नर्सिङमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सम्भव भएको छ। अन्य विधामा पनि राष्ट्रिय औसतभन्दा राम्रो स्थानमा छौँ।’










प्रतिकृया दिनुहोस्