- ३२ श्रावण २०८०, बिहीबार १४:०६
गाउँघरदेखि सहरबजारसम्म शिक्षकहरुको छुट्टै आकर्षण छ । सरकारी तलब सुविधा, समाजमा मानसम्मानजस्ता कारणले शिक्षक बन्न चाहनेहरु धेरै हुन्छन् । तर पछिल्लो समय गाउँका विद्यालयलाई शिक्षक पाउन मुस्किल छ ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको उदाहरण हेरौं । पालिकाले मंगलबार मावि तहको अंग्रेजी, विज्ञान र गणित शिक्षक पुनः माग गरेको छ । पालिकाका अनुसार अंग्रेजी विषयमा पाँचौ पटक, विज्ञानमा चौथो पटक र गणित विषयमा तेस्रो पटक विज्ञापन प्रकाशित भएको हो ।
पालिका शिक्षा शाखा स्रोत व्यक्ति कुवेरध्वज थापा पालिकामा लाइसेन्स भएका जनशक्ति नभएको र बाहिरबाट आउनका लागि अनुदान कोटाको लागि तलब कम हुने र अरु सुविधा नहुने भएकाले शिक्षक पाउनै मुस्किल छ ।
माध्यमिक तहका शिक्षकले ४३ हजार ६८९ रुपैयाँ तलब, चाडबाड खर्च, पोशाक खर्च सुविधा पाउँछन् भने संघीय अनुदानमा राखिएका शिक्षकले ३५ हजार ९९० मात्रै तलब पाउँछन् । त्यस्तै पोशाक तथा चाडबाड खर्च पनि नपाउने भएकाले अनुदान कोटामा आकर्षण नभएको स्रोत व्यक्ति थापाको भनाइ छ ।
थापा भन्छन् ‘लाइसेन्स भएका दक्ष जनशक्ति आयोगबाट आउन प्रयास गर्छन् । लाइसेन्स भए पनि अनुदानको तलब, सुविधा आकर्षक नहुँदा समस्या भइरहेको छ ।’ पछिल्लो चोटी विज्ञापन गरेपछि भने अलि टाढा–टाढाबाट फोन आइरहेकाले शिक्षक पाउने आशा रहेको स्रोत व्यक्ति थापा बताउँछन् ।
म्याग्दीको बेनी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालयले यही साउन ८ गते मावि तहको अनुदान कोटामा गणित शिक्षक खोजी तेस्रो पटक सूचना जारी गरेको छ ।
दोलखाको शैलुङ गाउँपालिकाले पनि यही साउन ३ गते विज्ञानमा २ जना र गणितमा एक जना माध्यमिक तहका शिक्षक माग गरेको छ । पालिकाका विज्ञान र गणितको एक–एक कोटा संघीय अनुदानको हो भने विज्ञानको एउटा गाउँपालिकाको अनुदान हो ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको प्रगति माध्यमिक विद्यालयले साउन २६ गते निमावि तहमा २ जना अंग्रेजी शिक्षक माग गरेको छ










प्रतिकृया दिनुहोस्