- ७ फाल्गुन २०७९, आईतवार २०:२२
फागुन ७, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशको वर्तमान शैक्षिक अवस्था र आगामी दिशा विषयमा व्यापक चिन्तन गर्ने ध्येयले फागुन ६ र ७ गते ललितपुरमा आयोजित राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न भएको छ ।
६ गते बिहान पुल्चोक क्याम्पसको सभाहलमा उद्घाटन समारोहसँगै प्रारम्भ भएको कार्यशाला नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विभिन्न कार्यपत्रहरूको प्रस्तुतीसँगै टिप्पणी तथा चर्चाको साथमा सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु बज्राचार्य, राष्टिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव हरि लम्सालको विशेष उपस्थिति रहेको थियो साथै परिषद्का राष्टिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, महासचिव छितराज न्यौपाने एवं कार्यक्रम संयोजक प्रा.डा. रामजी गौतमज्यूको उपस्थितिमा करिब १५० जना विशिष्ट व्यक्तिहरुको सहभागितामा सम्पन्न भएको थियो ।
कार्यशालामा नेपालको राष्ट्रिय शिक्षानीति विषयमा डा. भोजराज काफ्ले, उच्च शिक्षामा प्रा.डा. पुष्कर बज्राचार्य, माध्यमिक शिक्षामा डा. जिवन थपलिया तथा आधारभूत शिक्षा विषयमा जयराम अधिकारीज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि विभिन्न विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापक, शिक्षा मन्त्रालय, परीक्षा बोर्ड आदिका प्रतिनिधिहरूले टिप्पणी गर्नुभएको थियो ।
जसमा नीतिगत विषय, शिक्षणविधि परीक्षाप्रणाली एवं मूल्यांकनपद्धति आदि विषयमा चर्चा एवं चिन्तन भएको थियो । कार्यशालामा त्रि.वि.वि.का पूर्व उपकुलपति प्रा.डा.तीर्थ खनियाँ, ने.सं.वि.का पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला एवं वर्तमान उपकुलपति प्रा.डा.यादव प्रसाद लामिछाने, त्रि.वि.वि. योजना महाशाखा निर्देशक प्रा.डा. ध्रुव कुमार गौतम आदि विशेष व्यक्तिहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो ।
कार्यशालामा प्रस्तुत कार्यपत्र, टिप्पणी एवं चर्चा भएका समग्र विषयबाट आएको सारांशमार्फत् आगामी दिनमा शिक्षाक्षेत्रको सुधारका लागि सबै पक्षले ध्यान दिनुपर्ने र सुधार गर्नुुपर्ने विषयलाई समेट्दै सम्बन्धित निकायलाई दिशा निर्देशका लागि विद्यार्थी परिषद्ले निरन्तर कार्य गर्नेछ । कार्यशालाको पूर्ण अवधिभर, देशभरका विभिन्न शैक्षिक संस्था, शिक्षाक्षेत्रका विविध निकायका ८० जना विशेष व्यक्तिहरूको पूर्ण सहभागिता रहेको थियो ।











प्रतिकृया दिनुहोस्