- १२ पुष २०७९, मंगलवार ०८:३६
पाैष १२, काठमाडौं । धेरै राजनीतिक विश्लेषकले पनि खासै अनुमान नगरेको कुरा नेपाली राजनीतिमा घटेको छ । भरखर मात्र प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । जसको मुख्य सहयोगी एमाले रहेको छ भने स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अरु साना दलहरू पनि यो सरकारका समर्थक रहेका छन् । बाहिर हेर्दा खासै सरकारमा जाने इच्छा नदेखाइरहेको एमाले पार्टीले नै राष्ट्रपतिले दिएको पहिलो समयसीमाको लगभग अन्त्य समयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउमा मुख्य भूमिका खेलेको हो ।
यो अवस्था हुनुको मुख्य कारण त नेपाली काङ्ग्रेस नै रह्यो । समय परिस्थितिलाई चिन्न नसक्दा र पार्टीभन्दा ठूलो आफुलाई मान्दा काङ्ग्रेसमा यो समस्या आएको हो । राजनीतिबाट सन्न्यास लिई अभिभावक भएर बस्ने अर्थात् राष्ट्रपतिमा आसीन हुने सुयोग आउँदा पनि शेरबहादुरले अझै पनि कार्यकारी पदको लोभ गर्नु यसको मुख्य कारण देखियो । यसबेला उनले रामचन्द्रलाई कार्यवाहक सभापति दिएर आफू राष्ट्रपति बन्न सक्थे वा पार्टीमा रहेका जनजाती वा दलित नेतालाई राष्ट्रपति बनाई, युवाहरूलाई संसदीय दलको नेता सुम्पिई आफू सभापति नै भएर पार्टी चलाउन सक्थे । उनले यो काम एमालेसँग मिलेर वा माओवादीसँग मिलेर नै गर्न सक्थे । अझ धेरै राम्रो त एमालेसँग मिलेर सरकार बनाई सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई राष्ट्रिय राजनीतिमा ल्याउँदा गरिएका केही धर्मनिरपेक्षता, संघीयता लगायतका राष्ट्रघाती कामको पनि यसै समयमा सुल्झाउन पाउँथे । यसले गर्दा काङ्ग्रेस पार्टीलाई फाइदा त थियो थियो त्यो भन्दा धेरै फाइदा त राष्ट्रलाई नै थियो । तर उनले यस किसिमको महत्त्वपूर्ण समयको उपयोग गर्न जानेनन् । मौकामा हिरा फोर्न नजान्दा विहानको बेलुकासम्म हातमा रहेको रिमोट अर्कैको हातमा पुगिछाड्यो ।
नेपाली काङ्ग्रेस र माओवादी लगायत दलको खसाकखुसुक लुसुक्क परेजस्तो तरीकाले नियालिरहेका केपी ओलीले परिस्थिति बुझेरै बाण चलाए । उनको बाणले शेरबहादुर र प्रचण्डको बीचमा पर्खाल लगाइछाड्यो । हुन पनि ओलीको पहिलो रोजाई त काङ्ग्रेस नै थियो । काङ्ग्रेसलाई राष्ट्रपति दिई कार्यकारी आफै लिई सरकार चलाउन उनी चाहन्थे । तर साह्रै धेरै प्रजातान्त्रिक भन्न रुचाउने काङ्ग्रेसमा केपी ओलीको यो प्रस्ताव तँ तँ र म म गर्दा गर्दै तुहियो । रामचन्द्रको राष्ट्रपति बन्ने सपना र शेरबहादुरको प्रधानमन्त्री नै भइरहने चाहनाले यस्ता प्रस्तावले गति लिन सकेनन् । ओलीबाको राष्ट्रपति र सभामुख आफ्नो पार्टीलाई दिई कार्यकारी लिन काङ्ग्रेलाई गरेको आग्रह पनि काङ्ग्रेसका राष्ट्रपति र प्रधानमन्त्रीका आकाङ्क्षीहरूले तुहाइदिए ।
उता पहिलो कार्यकाल प्रधानमन्त्री आफूलाई नै चाहिने प्रचण्डको अभिव्यक्ति, आफैले टेको लगाइदिएर संसदमा उपस्थित गराइदिएको पार्टि एसमाजवादीको राष्ट्रपतिको इच्छा, सभापति नै आफैँ हुँदा पनि पटक पटक प्रधानमन्त्री चाहिने शेरबहादुरको इच्छा, सामान्य जनताले पनि बुझ्ने गरी रामचन्द्रले गरेको राष्ट्रपतिको तीब्र आकाङ्क्षा लगायतका कुराहरूलाई बेलैमा मिलाउन नसक्दा पनि काङ्ग्रेसलाई नपत्याउने हावाले उडादियो ।
यस्तो परिस्थितिलाई ठ्याक्क बुझेर राजनीतिमा अर्को सफलता हासिल गरे केपी ओलीले । यहाँ कसैले भन्लान् – एमालेभन्दा पनि चतुर त प्रचण्ड देखिए त । तर त्यसो होइन । किनभने काङ्ग्रेसले पनि अढाई वर्षपछि कार्यकारी त दिने नै भनेको थियो । मानौँ अढाई वर्षपछि प्रधानमन्त्री नबनेपनि उनको पार्टी त उपराष्ट्रपति सभामुख वा कुनै पदसहित पाँच वर्ष त सरकारमा रहन्थ्यो नै । त्यतिमात्र नभएर कुनै दुई प्रदेशको प्रदेशप्रमुखको भाग पनि माओवादीलाई नै पर्थ्यो भने प्रत्येक प्रदेशमा सरकार गठनका लागि पनि माओवादीकै भूमिका रहन्थ्यो । अझ केही प्रदेश प्रमुख पनि उसकै भागमै पर्दथे । तर यस्तो भएको भए एमाले त पुरै पाँच वर्ष प्रदेश एवम् केन्द्र सरकारबाट बाहिर रहन्थ्यो ।
त्यसैले प्रचण्डको बानी राम्ररी बुझेका ओलीले भलै अढाई वर्षपछि प्रधानमन्त्री पाइएला वा नपाइएला अहिले तत्कालको परिस्थितिलाई बुझेर माओवादीलाई सरकार प्रमुखको जिम्मा लगाइदिए । तर राष्ट्रपतिको लगाम र अग्नी सापकोटा सभामुख हुँदा राम्ररी बुझ्ने मौका मिलेको सभामुखको पावरलाई पनि आफ्नै हातमा लिने निर्णय लिए। त्यस्तै प्रदेशमा गुम्ने भएका प्रदेशप्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको जिम्मेवारी पनि उनैलाई आउने भए । राजनीतिमा चतुर खेलाडिका रुपमा चिनिएका केपी ओलीको यो निर्णयले सबैलाई अचम्मित तुल्यायो । पहिलेदेखि नै चतुर खेलाडीका रुपमा परिचित ओलीबालाई सोझासोझ बुझेर बखत मा काम गर्न नसक्दा शेरबहादुर बा र रामचन्द्र बा हेरेको हेरै भए । अस्तु ।










प्रतिकृया दिनुहोस्