- १ पुष २०७९, शुक्रबार २१:५७
पाैष १, तनहुँ । संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण गरिएको छ ।
तनहुँकाे देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा आयोजना गरिएको प्रथम संस्कृत विद्यार्थी सम्मेलनमा संस्कृत विश्वविद्यालयबाट शास्त्री तहमा प्रथम, द्वतीय र तृतीय भएका तीन उत्कृष्ट विद्यार्थीहरूलाई एक लाख पुरस्कार वितरण गरिएको हाे ।
यस बर्षदेखी वितरण गरिएकाे श्री नथमल वैद्य हनुमानीदेवी सृजन पुरस्कार वितरण कार्यक्रम अन्तरगत नेपाल संस्कृत विश्वविद्यालय महेश गुरुकुल देवघाटधामबाट शास्त्री तहमा प्रथम, द्वितीय र तृतीय भएका पुजक वास्काेटा, कृष्णप्रसाद पाैडेल र विष्णुहरी भट्टराईलाई क्रममा रू ५० हजार रू ३० हजार र रू २० हजार रकम सहित सम्मान पत्र वितरण गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।
शुक्रबारबाट महेश संस्कृत गुरूकुलमा प्रारम्भ भएको सम्मेलन प्रमुख अतिथि गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी श्री १००८ आत्मानन्द गिरिजी महाराज र विविध विधाका मूर्धन्य विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथिकाे रूपमा गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी श्री १००८ आत्मानन्द गिरिजी महाराज, विशिष्ट अतिथि महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, समाजसेवी एवं आध्यात्मिक व्यक्तित्व अशोक वैद्य, विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, सामाजिक प्राज्ञिक व्यक्तित्व एवं विभिन्न गुरूकुल तथा विश्वविद्यालयका क्याम्पसमा अध्ययनरत १०० जना विद्यार्थीहरूको समुपस्थितिमा उद्घाटन गरिएको परिषद्का महासचिव छितराज न्याैपानेले बताए ।
उक्त पुरस्कार राशी विरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योग व्यावसायी असाेज वैद्यले विद्यार्थी परिषद् मार्फत हरेक बर्ष अलग अलग विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई श्री नथमल वैद्य हनुमानीदेवी सृजन पुरस्कार नामबाट प्रदान गर्नका लागि सहयोग गर्दै आइरहेको परिषद्ले जनाएको छ ।
सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी रूपमा रहेकाे क्याम्पस विश्वविद्यालयका विद्यार्थीहरू विच काम गर्दै आइरहेको विद्यार्थी परिषद्ले देशकाे विभिन्न क्षेत्र संचालन भएको गुरुकुल र संस्कृत विश्वविद्यालयमा पढदै गरेका विद्यार्थीहरूकाे सहभागीतामा प्रथम राष्ट्रिय संस्कृति विद्यार्थी सम्मेलन गरेकाे हाे । विद्यार्थी परिषद्ले लिएको विचार र कार्यपद्वतिलाई ती विद्यार्थीहरू विच पुर्याउनका लागि परिषद्ले प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन पाैष १ गतेदेखि २ गतेसम्म देवघाट धाममा संचालन हुने छ ।











प्रतिकृया दिनुहोस्