- १८ आश्विन २०७८, सोमबार ०७:३३
सुदुरपश्चिम सुदुरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आयोगले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेर विज्ञापनको तयारी गरेको हो । आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको छ।
विज्ञापन खोल्नका लागि आवश्यक पूर्वाधार, नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड,पदाधिकारी र कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको छ।
‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२र३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुंगो लगाउँछौँ।’ बोहराले दसैँपछि विज्ञापन खोल्ने गरि तयारी भइरहेको बताए।
‘विज्ञापन खोल्नका लागि हामी तयारी अवस्थामा छौँ,’ बोहराले भने, ‘प्रदेश सरकार र स्थानीय तहले रिक्त पदको विवरण बुझाउन बाँकी छ। हामीले त्यो विवरण मागेका छौँ। विवरण पाएपछि केही दिनमै आयोग खुल्छ।’
लोकसेवा आयोगको कार्यालयले गत असार २५ गते नै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन आग्रह गरेको थियो। केही स्थानीय तहले भने रिक्त दरवन्दीको विवरण पठाएका छन्।
सुदूरपश्चिम प्रदेशमा आयोगमार्फत कर्मचारी भर्नाका लागि बाटो खुलेको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेपछि विज्ञापनमार्फत कर्मचारी भर्नाका लागि बाटो खुलेको हो।










प्रतिकृया दिनुहोस्