- ३ कार्तिक २०७९, बिहीबार १६:३९
एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाइने भएको छ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस/बीडीएस गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिन प्रक्रिया अगाडि बढाएको छ । एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा. कृष्ण अधिकारीले बताए । ‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौं,’ उनले भने, ‘सबै एमबीबीएस पासले डाक्टरी नै गर्नुपर्छ भन्ने छैन, उहाँहरूले स्नातकोत्तर गरेर अन्य उपयुक्त जागिर गर्न पाउनुहुन्छ । ’ लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूका लागि यो व्यवस्था एउटा राम्रो निकास हुने उनले बताए । काउन्सिलले लिने लाइसेन्स परीक्षामा सरदर ५० देखि ६० प्रतिशत पास हुने गरेका छन् । परीक्षामा १ सय ८० वटा वस्तुगत प्रश्न सोधिन्छ, यसमा ९० अंक ल्याउने पास हुन्छन् ।










प्रतिकृया दिनुहोस्