- २७ श्रावण २०७९, शुक्रबार १३:३५
साउन २७, काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । शैक्षिक क्यालेन्डरअनुसार समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘सबै विश्वविद्यालयले प्राध्यापकहरूको सहयोगमा क्यालेन्डर प्रणाली लागू गरौँ । क्यलेन्डर प्रणाली लागू नहुँदा बेथिति भएको छ । जाँच भएको लामो समयसम्म परीक्षाको रिजल्ट ननिस्किने, परीक्षा हुन ढिलो हुने, उच्च शिक्षामा नेपालको पठनपाठन नियमित छैन भन्ने बाहिर म्यासेज गएको छ । विशेष अनुरोध छ, क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गरौँ । क्यालेन्डर प्रणाली लागू भयो भने विद्यार्थीलाई समयमा पढाइ हुन्छ, समयमा रिजल्ट निस्किन्छ भन्न सक्छौँ ।’ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने उहाँको भनाइ छ । उहाँले आशिंक, करारलगायतका प्राध्यापकहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो । एकपटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आउँदा दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उहाँले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको आश्वासन दिनुभयो ।










प्रतिकृया दिनुहोस्