- ५ असार २०७९, आईतवार १४:४८
असार , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अधारमा प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नु पर्ने अवस्था रहेको बताएका छन् ।
संघीय संसद्मा विनियोजन विधेयकअन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै शिक्षामन्त्री पौडेलले उक्त प्रतिवेदन अनसार १२हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नुपर्ने देखिएको जनाएका हुन् ।
उनले सो संख्या मध्ये ९ हजार ४९६ जना शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवम् ३ हजार ३३९ जना शिक्षकको जिल्लान्तर सरूवाबाट मिलान हुने पर्ने अवस्था रहेको जवाफका क्रममा जानकारी गराए ।
स्थानीय तहभित्रनै मिलान हुनुपर्ने संख्यामध्ये ८ हजार ५०० जना शिक्षकको मिलान सम्पन्न भै सकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै गरिसक्ने लक्ष्य रहेको छ । जिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने संख्यामध्ये १ हजार ४८६ जनाको जिल्लान्तर सरूवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी संख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पौडेलले जानकारी गराए ।
न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका ४ हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २ हजार ६०० जना गरी ७ हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको उनले जानकारी गराए । उक्त संख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ ।










प्रतिकृया दिनुहोस्