- १८ जेष्ठ २०७९, बुधबार २०:०८
जेठ १८, काठमाडौं । बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई बागमती प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति लिएको छ।
माध्यामिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेको प्राविधिक ज्ञान, सीप र दक्षताको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने प्रदेशका आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सामुदायिक विद्यालयको कक्षा ११ र १२ वा सो सरहमा प्राविधिक विषय अध्ययन गर्ने अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत, दलित समुदायका छात्रछात्रा मध्ये प्रति स्थानीय तह एक जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने नीति सार्वजनिक गरेको छ।
त्यस्तै प्रदेश सरकारको नीति तथा कार्यक्रममा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा परामर्श सेवा प्रवाह गर्न एक माध्यामिक विद्यालय, एक नर्स कार्यक्रमलाई थप प्रभावकारी बनाइ विस्तार गरिने उल्लेख गरिएको छ।
प्रदेश सरकार नीति तथा कार्यक्रममा विद्यार्थी केन्द्रित विद्यालय व्यवस्थापन सुधार कार्यक्रम मार्फत सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने, उच्च र न्यून सिकाइ उपलब्धि भएका विद्यालय बीच शैक्षिक उपलब्धि र व्यवस्थापकीय क्षमता वृद्धिका लागि अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरिने, शैक्षिक उपलब्धि सूचकको आधारमा शिक्षण संस्थाहरूलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ।
सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी बुहारीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने, बालबालिकाको सर्वाङ्गीण विकास गर्ने थलोको रूपमा रहेको बाल विकास केन्द्रलाई स्थानीय तहको सहकार्यमा नमुना केन्द्रको रूपमा स्तरोन्नति गर्ने, लोपोन्मुख, अति सीमान्तकृत, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न प्रोत्साहन गरिने उल्लेख गरिएको छ।
विद्यालयहरूमा रहेको पूर्व प्राथमिक कक्षाको सिकाइलाई प्रभावकारी बनाउन स्थानीय तहको सहकार्यमा भौतिक संरचना सुधार तथा आधुनिक पाठ्यसामग्री तयार गरी प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
गुरुयोजना स्वीकृत भएका आवासीय विद्यालयहरूको भौतिक पूर्वाधार विकास गरिने, नमुना विद्यालय विकास गुरुयोजना कार्यान्वयन गरिने, स्थानीय तहसँगको सहकार्यमा प्रदेश भित्रका कम्तीमा दुई वटा विद्यालयलाई पाठ्यक्रम, शिक्षण विधि, शिक्षक, विद्यार्थी तथा अभिभावक बीचको सम्बन्धमा सुधार र भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीहरू सम्पन्न नमुना विद्यालयको रूपमा स्तरोन्नति गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरू स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै थप विद्यालयहरूमा विस्तार गरिने नीतिमा उल्लेख छ।










प्रतिकृया दिनुहोस्