- १० जेष्ठ २०७९, मंगलवार २०:०७
सिमकोट – स्थानीय तहको निर्वाचनपछि जिल्लाभरका विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीका हातमा अझै पाठ्यपुस्तक पुग्न सकेका छैनन्। बालमन्दिर माध्यामिक विद्यालयकी शिक्षिका मधु बस्नेतले समयमा पाठ्यपुस्तक आइनपुग्दा शिक्षकलाई पढाउन र विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको बताइन्। उनले एक, दुई, तीन, छ र आठ कक्षामा केही पुराना किताबबाट पठनपाठन गरिएको भए पनि त्यो सहज नभएको बताइन्। त्यो पनि कक्षाका सबै विद्यार्थीका हातमा भने पुस्तक छैनन्। अझ चार, सात र नौ कक्षाको पाठ्यक्रम नयाँ भएका कारण कुनै विषयका पुस्तक बिनै अध्ययन गर्नुपर्ने बाध्यता शिक्षकहरुलाई रहेको छ। बस्नेतले आफूले अध्यापन गराउने विषयमा कक्षा सात र नौलाई इन्टरनेटको सहायताले घरमा डाउनलोड गरेको पाठ्यक्रमको विषयलाई मोबाइलमा हेरेर पढाउने गरिरहेको जानकारी दिइन्। विद्यार्थीहरुलाई अभ्यासको लागि गृहकार्य दिनुपरे ह्वाइटबोर्डमा लेखेर दिने र विद्यार्थीहरुले घरबाट गरेर आउने गरेको विद्यालयले जनाएको छ। त्यसैगरि सर्केगार्ड गाउँपालिका–२ र ३ को लालिगुँरास मावि लिप्नेका प्रधानाध्यापक कालीबहादुर महताराले पुस्तक नभएर कामचलाउ रुपमा पढाइ भइरहेको जानकारी दिए। उनले पुराना च्यातिएका किताबबाट पठनपाठन गर्ने गरेको भए पनि धेरै विद्यार्थीहरुको हातमा पुस्तक नभएका कारण कठिन भएको बताए।










प्रतिकृया दिनुहोस्