- ६ जेष्ठ २०७९, शुक्रबार २०:२८
जेठ ६, काठमाडौँ । आठ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले भिडिओ सार्वजनिक गरेपछि सो घटनामाथि प्रहरीले छानबिन गर्ने भएको हो।
यतिबेला सामाजिक सञ्जालभरि एकजना युवतीको भिडिओ भाइरल भएको छ । सुम्निमा खपाङ्गी (नाम परिवर्तन) नाम गरेकी युवतीले विसं. २०७१ सालमा आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गर्दै सामाजिक सञ्जालमा हालेको भिडिओ भाइरल भएपछि उनको न्यायका लागि देशैभरबाट आवाज उठरहेको छ भने बालुवाटार घेराउ गरी सरकारको ध्यानाकर्षण गराउने काम पनि भइरहेको छ।
सो अवस्थामा गृह मन्त्रालयले छानबिन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरिसकेको छ। समितिले घटनाको सत्यतथ्यबारे अनुसन्धान थाल्ने प्रहरीले बताएको छ।
‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट पीडितले २०७१ सालमा सम्पन्न ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’का क्रममा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले कार्यक्रमको बहाना गरी होटलमा बाेलाई आफूमाथि बलात्कार भएको आरोपसहितको भिडिओ सार्वजनिक गरेकी छन्। उनले आफूलाई बलात्कार गर्ने कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे र पाण्डेलाई साथ दिने फोटोग्राफरलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।
घटनाका बारेमा बुझ्न र पीडितलाई काउन्सिलिङ गर्न भनी आज दिउँसो एसपी नेतृत्वको टोली समेत पेप्सीकोलास्थित उनको घर पुगेको जनाइएको छ।










प्रतिकृया दिनुहोस्