- २९ बैशाख २०७९, बिहीबार ११:०३
सामान्य अवस्थामा दैनिक २–३ हजारसम्म सवारीसाधन आवतजावत गर्दै आएकामा अहिले ७ हजारभन्दा बढी
सिन्धुली — काठमाडौं बस्दै आएका धनुषा यदुकुवाका उमेश पञ्जियार बुधबार घर फर्किने क्रममा कमलामाई नगरपालिका–२ चियाबारीस्थित बीपी राजमार्गसँगै जोडिएको एक होटलमा भेटिए । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उनी घर फर्किंदै थिए ।
आफूजस्तै गाउँकै मतदाता सूचीमा नाम रहेका धेरै जना गाउँ फर्किने क्रममा रहेको उनले बताए । ‘मत हाल्न पाउनु हाम्रो अधिकार हो, यस्तो मौकाको सदुपयोग त गर्नुपर्यो नि !,’ उनले भने, ‘मत हालेर राम्रो उम्मेदवारलाई जिताउने र घरमा समेत भेटघाट हुने भएकाले यसलाइ पर्वकै रूपमा लिएको छु ।’
सुनसरी तरहराका कृष्ण थापाको भनाइ पनि उस्तै छ । उमेरले ६० वर्ष नाघिसकेका उनी मतदान गर्नकै लागि औषधिउपचारलाई समेत थाती राखेर गाउँ फर्किंदै थिए । ‘निर्वाचनमा मतदान गर्ने हो, भोलिपल्ट यही बाटो भएर फर्किएपछि समयमै फेरि पुगिहालिन्छ,’ उनले भने, ‘अर्कोपटक कसले देखेको छ र, मतदान गर्न पाइन्छ, पाइँदैन ।’ निर्वाचनमा सहभागी हुन राजधानी काठमाडौं र आसपासका क्षेत्रबाट पूर्वी नेपाल पुग्नेहरुको बुधबार बीपी राजमार्गमा भीड थियो । छोटो दूरीको यात्रामै पुग्न सकिने भएकाले पनि यात्रुको पहिलो रोजाइमा पर्छ यो राजमार्ग । पूर्वका धनकुटा, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, सिरहा, मधेस प्रदेशका सप्तरी, घनुषा, सर्लाही, रौतहटलगायत जिल्लाका मतदाता यही बाटो भएर घर फर्किरहेका छन् ।
उदयपुर, ओखलढुंगा, भोजपुर, खोटाङ, सोलुखुम्बुलगायतका मतदाता पनि बीपी राजमार्ग हुँदै खुर्कोट पुगेर मध्य पहाडी लोकमार्ग प्रयोग गरिरहेका छन् । दुवै राजमार्गमा यात्रुको थामी नसक्नुको चाप रहेको सिन्धुली ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘३ दिनयता अघिपछिको भन्दा तेब्बर संख्यामा यात्रुबाहक साना तथा ठूला सवारीसाधन चलिरहेका छन् । दिउँसोको समयमा मालबाहक सवारीलाई समेत केही समय रोक्नु परिरहेको छ,’ जिल्ला ट्रफिक प्रमुख जेजंग कार्कीले भने । उनका अनुसार सामान्य अवस्थामा बीपी राजमार्गमा दैनिक २–३ हजारसम्म सवारी साधन आवतजावत गर्छन् । अहिले यो संख्या दैनिक ७ हजारभन्दा बढी रहेको छ ।
‘भाडाका र रिजर्भ गरेर मतदान गर्न आउने सवारी साधनको संख्या पनि उल्लेख्य छ,’ उनले भने, ‘सबैजसो यात्रुले मतदान गर्न कै लागि घर फर्किन लागेको बताइरहेका छन् । त्यही भएर पनि सवारी चाप भएको हो । हामीले पनि आफ्नो सबै शक्ति परिचालन गरेर सवारीसाधनलाई गन्तव्यतर्फ पठाइरहेका छौं ।’ विभिन्न सिलसिलामा राजधानीमा बसिरहेका मतदाता ओसार्नसमेत उल्लेख्य रूपमा सवारी साधन रिजर्भ भइरहेका छन् । विभिन्न राजनीतिक दलले समेत सवारी रिजर्भ गरी नि:शुल्क रुपमा मतदातालाई झिकाइरहेका छन् ।










प्रतिकृया दिनुहोस्