- ८ बैशाख २०७९, बिहीबार १७:०४
वैशाख ८, भरतपुर । निर्वाचन आयोगले बिहिबार चितवनको सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ भने निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिएका छन् ।
निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलिय बैठक बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले बैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका बनाएको छ । मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मनोनयनका दिन मनोनयन दर्ता गर्ने उमेदवार, उमेदवारका प्रस्तावक र समर्थकलाई मात्रै निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।
‘भिडभाड व्यवस्थापनका लागि कार्यालयबाहिर उत्तरतर्फ नेपाल टेलिकम चोक र दक्षिणतर्फ विद्युत चोकमा कडाई गर्छौँ । उमेदवार र उमेदवारका प्रस्तावक र समर्थक बाहेकलाई प्रवेश गर्न दिदैनौँ’, उनले भने । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले दलहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर पालो मिलाएर आउन भनिने उनले बताए ।
आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत चितवनका न्यायाधिस प्रकाश कुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रुपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोद कुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमतीकी उपसचिव सरस्वती पौडेल खटिएका छन् ।
राप्तीमा श्यामप्रसाद दाहाल, कालिकामा जिल्ला न्यायाधिबक्ता महेश प्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणी शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतहरुलाई बैशाख १ र २ गते आयोगले तालिम दिएको थियो ।










प्रतिकृया दिनुहोस्