- ३० चैत्र २०७८, बुधबार ११:२६
चैत्र ३०, काठमाडौँ । सन्तोष आचार्य ,जब ब्रह्माण्डदेखि लिएर सूर्य चन्द्रमाको दिशा, ऋतु, मौसम, अन्नबाली, नक्षत्र, रूख–बिरूवा, प्रकृति, जस्ता कुरामा नवीनताको सञ्चार हुने वैज्ञानिक एवं तेजोमय नववर्षारम्भको पावन दिवस हाम्रो संस्कृतिमा छ भने किन विकृतिको अँध्यारोमा छट्पटाउनु ? अतः आफ्नो गौरवभावलाई स्मरण गरौँ ।
विज्ञान सम्मत हिन्दू वैदिक कालगणनालाई बुझौँ । आफ्नो नव संवत् लाई नै नयाँ वर्षको आरम्भका रूपमा मनाऔं । एक जनवरीमा संस्कृति होइन क्यालेन्डर मात्र बदलिन्छ वास्तविक नयाँ वर्ष त बैशाख १ को दिन हो । १ जनवरीका दिन के नै नयाँ हुन्छ र , न ऋतुमा परिवर्तन हुन्छ न मौसममा ? न अन्न–बालीमा केही परिवर्तन छ , न खेतमा, न रूख–बिरूवामा नै केही परिवर्तन आयो ? न सूर्य–चन्द्र आदिको दिशामा ,न नक्षत्र मै कुनै परिवर्तन देखियो ।
नयाँ भन्ने कुरा क्यालेन्डर परिवर्तन गर्दै मा हुँदैन नयाँ भन्ने कुरा एउटा वर्षको अन्त्य र अर्को वर्षको आरम्भ भन्ने मिति तोकेर मात्र पनि हुँदैन । नयाँ वर्षमा त नवीनताको अनुभूति हुनु पर्छ । हाम्रो पात्रो पल्टाएर हेरौँ, त्यहाँ अनेकौं पर्वहरू र दिनै मनाइने तिथिहरू छन् । ईस्वी संवतको नयाँ साल १ जनवरीमा र हिन्दू नववर्ष विक्रमी संवत चैत्र शुक्ल प्रतिपदामा अथवा मेष संक्रान्ति र वैशाख १ गते मनाइन्छ । ल दुवैको तुलनात्मक अन्तर हेरौँ । प्रकृतिमा देखिने अन्तरलाई हेरौँ १ जनवरीका दिन प्रकृतिमा कुनै अन्तर हुँदैन ।
जस्तो डिसेम्बर महिना थियो त्यस्तै जनवरी पनि हुन्छ । प्रकृति ले घुम्टो हालेर हुस्सूको शीतधारा चुहाउँदै बिहानमा अँध्यारी भै रुन्छिन् सधैं । न ता वृक्षविषे पात, न ता झार कतै रति । जता हेर्यो उतै खाली उराठै लागने अति । अब यस्तो उराठ लाग्ने मौसममा के को नयाँ वर्ष नयाँवर्ष त बैशाख १ गते हो । चैत्र मासमा चारैतिर फूल फुल्न थालेका हुन्छन् । रूख–बिरूवामा नयाँ पालुवा आएका हुन्छन् । चारैतिर हरियाली मानौं प्रकृति आफैँ नवीन वर्षको स्वागतमा तत्पर हुन्छिन् ।
ऋतुराज वसन्तको आगमनमा अनि कविहृदयले गाउँछ— पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै परिवेशमा के अन्तर हुन्छ । त्यो हेरौँ डिसेम्बर र जनवरीमा त्यही वस्त्र अर्थात कम्बल, सिरकभित्र लुक्नु पर्ने अवस्था हुन्छ । हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू । अघिको आफनू चाल छोडिदिन्छ कठै मुटू । तर हिन्दु नववर्षमा हेर्नुस चैत्र मासमा समशीतोष्ण हुन्छ परिवेश । त्यसमा बाहिर निस्किएर प्रकृतिमा रमाउन लालायित हुन्छ मन । क्यालेन्डर र पञ्चाङ्ग पात्रो मा फरक हेरौँ जनवरीमा नयाँ भनेको त्यही क्यालेन्डर मात्रै हुन्छ ।
हाम्रो जीवन शैली त्यस क्यालेन्डरका भरमा चल्दैन । चैत्र–वैशाखमा नयाँ पञ्चाङ्ग आउँछ जसमा हाम्रा सबै पर्व, विवाह र अन्य महूर्त आदिको लेखाजोखा हुन्छ । पञ्चाङ्गबिना हिन्दू समाज जीवनको कल्पना पनि गर्न सकिँदैन । त्यसैले पनि बैशाख १ महत्त्वपूर्ण छ । पर्व मनाउने विधिलाई हेर्नुस ३१ डिसेम्बरको रात तथा कथित नयाँ सालको स्वागतका लागि मानिस जमेर मदिरा पान गर्दछन् डिस्को–पार्टी आदि हुन्छ ।
दुर्घटनाको सम्भावना एवं बलात्कार जस्ता जघन्य अपराध हुने सम्भाव्यता अधिक हुन्छ । पारिवारिक एवं सांस्कृतिक मूल्यहरूको विनाश पनि
आफ्नै ठाउँमा छ । फलस्वरूप युवा पुस्ता विकृत र व्यसनाधीन हुँदैछन् र नव वर्षारम्भको पद्धति पनि अशुभ बन्दै छ । यसको कुप्रभाव क्रमशः समाज जीवनमा परिरहेको छ । तर यता हाम्रो नव वर्ष बैशाख १ लाई हेर्नुस वासन्तिक उल्लासमा हुने हिन्दू नववर्ष व्रत–उपासनाको विधानबाट शुरू हुन्छ । पहिलो नवरात्र हुन्छ र घर–घरमा वासन्तिक नवरात्रमा माता रानीको पूजा हुन्छ ।
यज्ञमय जीवनको विलक्षण आनन्द दिने शुद्ध सात्विक वातावरण बन्दछ । ऐतिहासिक महत्व आफ्नै ठाँउमा छ एक जनवरीको दिन केही पनि ऐतिहासिक महत्वको कार्य भएको छैन । जबकि चैत्र प्रतिपदाका दिनलाई हेर्नुस ।
✓ ब्रह्माजीद्वारा सृष्टिको रचना भएको मानिन्छ चैत्र मासि जगद् ब्रह्मा ससर्ज प्रथमेऽहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।।
✓ यसै तिथिको रेवती नक्षत्रमा, विष्कुम्भ योगमा भगवान् नारायणको आदि अवतार मत्स्यरुपको प्राकट्य भएको थियो ।
✓ युगहरुमध्ये पहिलो सत्ययुगको आरम्भ यसै तिथिबाट भएको थियो ।
✓ भगवान् श्रीरामको राज्याभिषेक यसै तिथिमा भएको थियो ।
✓ युधिष्ठिरको राज्यभिषेकको तिथि नि यहि थियो ।
✓ स्वामी दयानन्द सरस्वतीले यसै दिन आर्य समाजको स्थापना गर्नुभएको थियो ।
✓ महाराज विक्रमादित्यले शकहरुमाथि विजय प्राप्त गरी त्यस सांस्कृतिक विजयलाई चिरस्थायी बनाउनका लागि विक्रमी संवतको शुरुआत गर्नुभएको थियो ।
✓ सिन्धका प्रसिद्ध समाज रक्षक सन्त झुलेलालको जन्मदिन यहि मितिमा पर्छ ।
✓ वासन्तिक नवरात्रको प्रारम्भ यहि बाट हुन्छ । जस्ता महत्वपूर्ण ऐतिहासिक प्रसङ्गहरूको स्मरण गराउँछ ।
जब ब्रह्माण्डदेखि लिएर सूर्य चन्द्रमाको दिशा, ऋतु, मौसम, अन्नबाली, नक्षत्र, रूख–बिरूवा, प्रकृति, आदि जस्ता कुरामा नवीनताको सञ्चार हुने वैज्ञानिक एवं तेजोमय नववर्षारम्भको पावन दिवस हाम्रो संस्कृतिमा छ भने किन विकृतिको अँध्यारोमा छट्पटाउनु अतः आफ्नो गौरवभावलाई स्मरण गरौँ । विज्ञान एवं प्रकृति सम्मत हिन्दू वैदिक कालगणनालाई बुझौँ ।
आफ्नो नव संवत् नै नयाँ वर्षको आरम्भका रूपमा मनाऔं । बैशाख १ लाई धुमधाम सँग आफ्नो घर अगाडीको सडक, चोक, आगन, गेट, घर
आदि स्थानमा दीप प्रज्ज्वलन गर्दै हर्षोल्लासको साथमा मनाऔँ । नववर्षको उपलक्ष्यमा यहाहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना ।
२०७९ साल यहाहरूको लागि शुभ रहोस । ईस्टदेव भगवान पशुपतिनाथको आशिर्वाद सदैव बनिरहोस ।










प्रतिकृया दिनुहोस्