- २३ चैत्र २०७८, बुधबार १७:०२
चैत्र २३, काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनको सरगर्मी गाउँदेखि सहरसम्म बढेको छ । देश चुनावमय हुँदैगर्दा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु विभिन्न नारासहित गाउँगाउँमा खटिएका छन् । हामीहरु राजनीतिलाई एउटा नसाको रुपमा हेर्ने गरेका छौँ । त्यही भएर नै होला चोक चौतारोदेखि चिया पसलसम्म राजनीतिले प्रसय पाउने गर्दछ । कतिपय व्यक्तिहरु त चुनावकै लागि भन्दै विभिन्न देशबाट नेपालमा आउने गर्दछन् । त्यसो त विभिन्न पेसा व्यवसायमा लागेका मानिसहरु समेत आफ्नो जागिर नै धरापमा पारेर राजनीतिक अभियानमा जुटेका छन् । अघिल्लो पटक स्थानीय तह होस् या संघीय निर्वाचनमा समेत सरकारी ओहोदामा रहेर काम गरिरहेकाहरु विभिन्न पार्टीलाई जिताउन निर्वाचनमा पार्टीको झण्डामुनी भएपछि विवाद र आलोचना भएको थियो ।
यसपटकको निर्वाचन आउन अझै एक महिना भन्दा बढी हुँदा शिक्षकहरु पार्टीको कार्यकर्ता जस्तो भएर पार्टी जिताउने अभियानमा लागेको तस्बिरहरु सामाजिक सञ्जालमा देखिन थालेको छ । विद्यालयमा हाजिर गरेर होस् या विद्यालयमा बिदा लिएर होस् या बिदाको दिन पारेर भएपनि पार्टी जिताउने अभियानमा लागेका हजारौँको संख्यामा शिक्षकहरु देख्न सकिन्छ । त्यहि मध्येका एक हुन् नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ८ ढुंगानागाउँका दिपक ढुंगाना ।
उनी हाल बेलकोटगढी ८ पावर्तीचौरमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा कार्यरत रहेका छन् । माओवादी केन्द्रसँग आस्था राख्ने उनी हाल पार्टी जिताउने अभियानमा जुटेका छन् । उनी स्वंयले पार्टी जिताउने अभियानमा लागेको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गरेका हुन् ।

ढुगांना १० वर्षे माओवादी द्वन्द्ध कालको सहीद परिवारको सदस्य हुन् । त्यही कारण पनि राजनीतिमा झुकाव हुनु स्वभाविक मानिन्छ । तर शिक्षण पेसामा रहेका ढुंगाना निर्वाचनको बेला मात्रै होइन अन्य समयमा पनि सामाजिक सञ्जालमा राजनीतिक पार्टीको वकालत गर्दै तर्क प्रस्तुत गर्दै आएका छन् । हाल पार्टीको काममा सक्रिय ढुंगाना टोल कमिटी गठनमा होस् या पार्टी जिताउने अभियानमा निरन्तर आफू सकिय रहेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आइरहेका छन् । राजनीतिक परिवारमा जन्मिए पनि ढुंगानाले अंगालेको पेसाले राजनीतिको झण्डा मुनी बसेर पार्टी जिताउने अभियानमा लाग्नु कतिको जायज र स्वभाविक मानिएला ? प्रश्न यहाँनेर हो । शिक्षाको ज्योती छर्ने शिक्षकहरु नै राजनीतिको खोल ओडेपछि हाम्रा बालबालिकाहरुले कुन किसिमको शिक्षा लिन्छन् भन्ने प्रश्न गम्भीर रुपमा अघि आउने गर्दछ ।

देश र समाजमा राजनीतिक खिचातानी बढी भइरहेका बेला यसरी शिक्षाको ज्योती छर्ने वर्गको रुपमा हेर्ने शिक्षक नै राजनीतिमा लागेपछि विद्यार्थीहरुले के सिक्लान् भन्ने प्रश्न चिन्ह खडा भएको छ । त्यसो त ढुंगाना एक प्रतिनिधि पात्र मात्र हुन् तथ्यांक खोज्ने हो भने देशभरका धेरै शिक्षकहरु प्रत्यक्ष रुपमै राजनीतिक पार्टीको खोल ओडेर राजनीतिक पार्टी जिताउन लागेका छन् ।
हामी समाज र देश राजनीतिले बिगारेकामा सँधै राजनीतिक दललाई गाली गर्दछौँ । तर एक पटक सोचौँ त शिक्षक राजनीति गर्ने, कर्मचारी राजनीति गर्ने, कलाकार राजनीति गर्ने, पत्रकार राजनीति गर्ने, किसान पनि राजनीति गर्ने अनि देश नेताले मात्रै बिगारेको हुने ? यदी देशको सिस्टम परिवर्तन गर्ने हो भने हामीले सबै राजनीति गर्न छाडेर आ–आफ्नाे काममा ध्यान दिन जरुरी छ ।











प्रतिकृया दिनुहोस्