- २३ चैत्र २०७८, बुधबार १०:५१
चैत २३, मकवानपुर । मकवानपुर स्थित एउटा बिद्यालयको शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै त्यहाँ स्थित छात्राहरुले बिद्यालय तोडफोड र तालाबन्दी गरेका छन।
मकवानपुर जिल्लाको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको हो।
विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएको बताइएको छ। यसअघि उक्त विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले छात्राहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए ।
छात्राहरूको निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको भएपनि उक्त छलफलले न्याय नपाएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको बताइएको छ।
बिद्यालयका प्रधानाध्यापक बसन्तराज खरेलका अनुसार ‘स्थानीय राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौं । छलफलको क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरुले तोडफोड गर्दै तालाबन्दी गरेको जनाए।
घटनापछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए । उनका अनुसार शिक्षकहरु विदामा रहेका कारण आरोपित शिक्षकहरूलाई पक्राउ गर्न सकिएको छैन । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए ।










प्रतिकृया दिनुहोस्