- २५ फाल्गुन २०७८, बुधबार १५:०९
फागुन २५, काठमाडाैँ । अथाह सिप, कोमल मन, घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै आएका विद्यालयमा खचाखच विद्यार्थी छन् । के सामुदायिक ! के संस्थागत ! महिला प्रधानाध्यापक तथा व्यवस्थापक भएका विद्यालयमा अहिले विद्यार्थीको चाम खपिनसक्नु छ । अभिभावक, महिला प्रधानाध्यापक भएका विद्यालयमा आफ्ना छोराछोरी पढाउन सकेसम्म प्रयास गर्छन् । तर पूर्वाधार तथा जनशक्ति अभावका कारण ती विद्यालयले आए जति विद्यार्थी भर्ना लिएर पढाउन सकेका छैनन् ।
कतिपयले प्रवेश परीक्षाको नाममा विद्यार्थी भर्ना रोक्यो भन्ने आरोप ती विद्यालयलाई लगाए पनि ती विद्यालय थप विद्यार्थीलाई नयाँ भर्ना दिएर पढाउन सक्ने अवस्थामा छैनन् । महिला प्रधानाध्यापक हुनु अघि विद्यार्थी संख्या घटेर विद्यालय नै बन्द गर्नु पर्ने अवस्थामा पुगेका विद्यालयको समेत मुहार फेरिएको छ ।
पारिवारिक वातावरण । आमाको जस्तै माया गर्ने गुरु आमा । प्रधानाध्यापकको दुरदर्शी रणनीति तथा कुशल व्यवस्थापनले पुनः ब्युँझिएका हुन् । भने महिलाले चलाएका संस्थागत विद्यालयले पनि भर्ना हुन आएजति विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभएको विद्यालय सञ्चालकहरु बताउँछन् ।
आफूले सञ्चालन गरेको विद्यालयको उज्वल भविष्यका लागि योजना निर्माण, सामूहिक छलफल शिक्षामा भित्रिएका नयाँ आयामको अध्ययन गर्दै विद्यालयकै लागि दैनिक १६ घण्टा काम गर्छन् नृतृत्वमा पुगेका महिला शिक्षक तथा व्यवस्थापक ।
बालबालिकाको मनोविज्ञान अनुरुप वालमैत्री, सिकाइमैत्री र लैङ्गिक मैत्रीपूर्ण वातावरण विद्यालयमा स्थापित गर्न सक्ने क्षमता महिलामा भएकै कारण महिलाले नेतृत्व गर्दै आएका विद्यालयमा विद्यार्थी अभिभावकको चाम बढेको बताउँछिन् नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर । ‘नेतृत्व लिन अब महिला आफैं अघि बढ्नुपर्छ ।’ अध्यक्ष तुलाधर भन्छिन्, ‘पहिलो पाठशाला घर, शिक्षक आमा, त्यसैले समाज रुपान्तरण गर्न महिला असल शिक्षक हुन जरुरी छ, असल शिक्षक भएको विद्यालय स्वतः राम्रो हुन्छ ।’
कक्षा अवलोकन, निरीक्षण र मूल्याङ्कनको जिम्मा प्रध्यानाध्यापकलाई नै दिनुपर्छ । प्रध्यानाध्यापकलाई निश्चित कार्यादेशसहित काम गर्ने वातावरण, समय सान्दर्भिक शिक्षक तालिम दिन सके सिकाइ राम्रो हुन्छ । सिकाइ राम्रो भएको विद्यालय सबैको रोजाइमा पर्ने नील बाराही माविका प्रधानाध्यापक तथा महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका नेपाल बताउँछिन् । ‘सिकाइलाई जीवन्त र जीवनोपयोगी बनाउन शिक्षकमा नियमितता, जागरुकता, लगनशीलता, उत्प्रेरणा र पेशाप्रति सम्मान अनि आदरभाव हुनुका साथै विद्यार्थीप्रतिको जिम्मेवारी र कर्तव्यबोध हुनुपर्छ ।’ उनी भन्छिन्, ‘आफू भन्दा अग्रजको सल्लाह, लामो समयको लागि योजना र सरोकारवालामा जागरुकता भयो भने विद्यालय सबैको राम्रो विद्यालय बन्छ ।’










प्रतिकृया दिनुहोस्