- २४ फाल्गुन २०७८, मंगलवार ११:४६
यत्र नार्यस्तु पूज्जन्ते रमन्ते तत्र देवता:
(जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन )
फागुन २४, काठमाडौँ । सृष्टि जोशी आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक पनि बनाउँदै ल्याको छ । नेपालमा बरु भागरथीको अर्को काण्ड घट्यो तर यो वर्ष पनि निर्मलाले न्याय पाएको सुनिएन । नसुनिएका र मौन अन्य अनेकन घटना दोहोरिने र तेहरिने क्रम जारी छ ,सबै घटनाले प्रचारप्रसार मात्रै नपाएको हो । विश्वमहामारी कोभिड-१९ को समयमा विकसित देशहरूदेखि विकासोन्मुख देशहरु दुबैमा नारीमाथि हिंसा र अपमान अत्यधिक बढेको पाइएको थियो । र ती घटनाबाट हामी नेपाली पनि ओभानो भने रहेनौ । शारीरिक होस वा मानसिक तनाब अझै भनौ उता बढ्दो प्राविधिक संगै समाजिक संजालमा पनि नारीविरुद्ध साइबर क्राइमको अर्को लर्को थपिएको छ ।
अझै पनि हाम्रो नेपालका केही ठाउँमा नारीहरूले स्वतन्त्रता पाएको देखिदैन साथै एक्लै हिंड्दा , कसै संग हाँसेर बोल्दा ,अबेर घर पुग्दा घरमा आउने प्रश्नको उत्तर बाटोमै खोजेर जानू पर्छ । यस्ता प्रत्येक पाइलाहरूमा नारी डराउछिन । हामी सहरमा र राजधानीमा बसेर स्वतन्त्र जीवन बाचिरहँदा नेपालमा नारीलाई गार्हो छैन भन्न थाल्न भन्दा ती विकट अनि ग्रामीण क्षेत्र तिर गएर हेरौ के छ अवस्था भनेर ? सहरिया र ग्रामीण क्षेत्रमा परिवर्तन आकाश र जमिनको नै फरक छ । सहरिया भाषा लिएर गाउमा परिवर्तन ल्याउछु भनेर जानू भन्दा गाउले नै भएर जाऔँ र महत्त्व बुझाऔँ , सिकाउ अनि सबैलाइ खुसी पारेर बिस्तारै गरौँ तर दीर्घकालीन परिवर्तन गरौँ । रातारात परिवर्तनले दीर्घकालीन परिवर्तन गराउदैन । अहिलेको समयमा घरकै सदस्य देखि डराउन पर्ने अवस्था आएको छ । तसर्थ आज घर देखि कार्यस्थल सम्मै नारीहरु सुरक्षा हुनु जरुरी छ । नारी आफैँमा सबल र सक्षम छिन त्यसमा सुरक्षित महसुस गरे उनले धेरै प्रगती गर्न सक्छिन र गर्छिन पनि कुनै कोटाको आवश्यकता नै पर्दैन । त्यस्का लागि आआफ्नो तर्फबाट सुरक्षित वातावरण उपलब्ध गराउन आवश्यक छ ।
ग्रामीण क्षेत्रको तुलनामा सहरिया क्षेत्रका नारीहरु धेरै बुझेका, समाज चिनेका छन कति मेरै उमेर समूहकाले त पुरुषलाई पनि फसाउदै हिडेको देखेकी छु ,नारी हिंसा बढीरहने क्रममा पुरुष हिंसा पनि बढ्दै गएको छ । तसर्थ हामी मानव भएर सोचौँ र कसैले कसैलाइ हिंसा गर्ने , दुख दिने कार्य कदापी नगरौँ । हाम्रो कार्य, हाम्रो आवाज घटनालाई सत्यतथ्य बुझी पीडितलाई न्याय दिन तर्फ उन्मुख हुनु आवश्यक हुन्छ न कि नारीलाइ मात्रै । जता पनि सत्यको जित होस भन्ने भावना जाग्न जरुरी छ । सबै नारी र पुरुष जाती खराब होइन केही व्याक्ती खराब हुन । नारी र पुरुष भन्दा पनि पहिलो कुरा मानव हौँ भनेर छुट्याउ , बाच्न दिउ र सबैको सम्मान गरौँ।
नारी शब्द जुन आफैँमा गहन र विशिष्ट छ जसमा सबै पुरुषको ममता र अपनत्वको भावना रहेको हुन्छ ,जसकारण सम्पूर्ण पुरुषको पुरुसत्व नारीको सम्मान, सुरक्षा र सहयोगमा लुकेको हुन्छ । हामी हेर्न सक्छौ परापूर्वकाल देखि नै नारीलाई श्रेष्ठ स्थानमा राखिएको थियो , चाहे त्यो जुन सुकै समयमा किन न होस् भगवानलाई जोडेर हेर्दा पनि पहिले देखिनै सीता राम , राधा कृष्ण, ऊमा महेश्वर जस्ता नामले पुकारिन्थ्यो र यसबाट यो पनि बुझ्न सकिन्छ कि नारीको सम्मान र स्थान विशेष नै थियो ।
”आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवन पनि रहेको हुन्छ ”
अनि आज सीता,गार्गी,भृकुटी ,मैत्रेयी जस्ता नारीहरूको कार्य र उनीहरूको सम्मान समेत सबैका लागि प्रेरणा र आदर्शका रूपमा स्थापित भएका छन् र जहा नारीलाई अगाडी लगाएर र साथमा राखेर गरेका हरेक शुभ कार्यहरू सम्पन्न भएको हामीले नै देखेका छौ, तसर्थ यो नारीको अस्तित्वलाई सधैब हामीले बुझेर अगी बढ्नु आवश्यक छ । तर आजको समयमा सर्वत्र नारीको अपहेलना र तिरस्कार मात्र देखेका छौ जसका कारण अशान्ति ,अन्याय र विनाश मात्र भोग्न परेको छ, यस्ता कुरालाई मनन गरौँ र सबैलाई सम्मान सहयोग र सहहृदयताका साथ अगाडी बढ्यौ भने अवश्य सबैको सम्मान र स्थान सदैव सुरक्षित रहने छ।
आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवन पनि रहेको हुन्छ । त्यसैले हेराइको नजर परिवर्तन गरौँ र सुन्दर नजरले सबैलाइ हेरौँ र रक्षा गरौँ । यदि रक्षा गर्न, सुरक्षा दिन सक्दौनौँ भने बिगार्ने , हेला गर्ने अधिकार पनि कदापि छैन । सबै पुरुष जाती होइन केही पुरुष व्याक्ती खराब हुन । दया, माया , करुणाकि खानी भनेर चिनिने नारी परि आउदा कालीको रुप धारण गर्न पनि तयार हुनु पर्छ ।
महिला सुरक्षा र सम्मान हामी सबैको पहिलो प्राथमिकतामा रहनु आवश्यक छ ।आजबाट कुनै नारीको भावना संग नखेलियोस ।
सम्पूर्ण मातृशक्तिमा अन्तराष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना ।।
#नारीशक्ती–राष्ट्रशक्ति
#सक्षमनारी–समृद्धनेपाल
(उहाँ प्राज्ञिक विद्यार्थी परिषद् ,नेपालकाे राष्ट्रिय सह–छात्रा प्रमुख हुनु हुन्छ)










प्रतिकृया दिनुहोस्