- १८ फाल्गुन २०७८, बुधबार ०७:४०
खर्किभ — युक्रेनको पूर्वोत्तर सहर ओख्तिर्कामा रुसी सेनाको आक्रमणमा परी सोमबार ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य इकाइ ध्वस्त भएको छ । उनका अनुसार उद्धारकर्ता तथा स्वयंसेवकले भग्नावशेषबाट शव निकालिरहेका छन् ।
‘निकै सर्वसाधारणहरू पनि मारिएका छन् । अहिले हामीले झन्डै ७० सैनिकका शव गाड्न चिहान बनाउने तयारीमा छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । रुसी सेनातर्फ पनि ठूलो क्षति पुगेको उनले दाबी गरेका छन् । उनका अनुसार सहरमा ‘रुसी सेनाका धेरै शव’ देखिएका छन् । यसको स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।
त्यस्तै, युक्रेनको दोस्रो ठूलो सहर खर्किभमा रुसी सेनाले गरेको क्षेप्यास्त्र प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएको अल जजिराले जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।
गैरसैनिकलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएका जेलेन्स्कीको दाबी छ । युरोपेली संसद्को विशेष बैठकमा भिडियो लिंकमार्फत बोल्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘युक्रेनलाई कसैले भंग गर्न नसक्ने’ बताएका छन् ।
‘त्यो स्पष्ट रूपमा युद्ध अपराध हो । कुनै सैन्य संरचना नभएको शान्त सहरको आवासीय क्षेत्र,’ उनले भने, ‘दर्जनौं प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यो जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित भएको छ । रुसीलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने थाहा थियो ।’ यसबारे रुसले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
आक्रमणमा मृत्यु हुनेमा एक जना भारतीय विद्यार्थी छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मंगलबार बिहान भएको आक्रमणमा एक भारतीय विद्यार्थी नवीन शेखरअप्पाको मृत्यु भएको पुष्टि गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले कर्नाटकका मुख्यमन्त्री बासवराज बोम्मईलाई उद्धृत गर्दै नवीन होवेरी जिल्लाका स्थायी बासिन्दा रहेको जनाए । उनी एमबीबीएस चौथो वर्षका विद्यार्थी थिए । नवीनको शव भारत ल्याउन आफूले विदेश मन्त्रालयका अधिकारीसँग कुरा गरिरहेको मुख्यमन्त्री बोम्मईले बताए ।
युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु भएपछि कांग्रेस नेता राहुल गान्धीले दुःख व्यक्त गर्दै हरेक मिनेट महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् । युक्रेनमा फसिरहेका भारतीय नागरिकलाई उद्धार गर्न सरकारले रणनीतिक योजना बनाउनुपर्ने गान्धीले बताएका छन् ।
प्रवक्ता बाग्चीले भारतीय नागरिक र विद्यार्थीलाई तत्काल युक्रेनको राजधानी किभ छाड्न आग्रह गरेका छन् । युक्रेनमा करिब २० हजार भारतीय रहेको अनुमान छ । तीमध्ये अधिकांश विद्यार्थी छन् । भारतले युक्रेनस्थित नागरिक उद्धार गर्न ‘अपरेसन गंगा’ चलाइरहेको छ ।
भारतले युक्रेनस्थित नागरिकलाई विभिन्न छिमेकी देशमा ल्याएर त्यहाँबाट ‘एयर लिफ्ट’ गर्दै आएको छ । त्यसका लागि भारतले चारजना केन्द्रीय मन्त्रीलाई युक्रेनका छिमेकी मुलुकमा पठाएको छ ।
उद्धार कार्यमा वायु सेनालाई पनि परिचालन गरेको छ । अहिलेसम्म ८ हजार भारतीय नागरिकले युक्रेन छाडिसकेको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप १ हजार ४ सय नागरिकलाई बुधबारसम्म ल्याउने तयारी भइसकेको जनाएको छ ।










प्रतिकृया दिनुहोस्