- ७ फाल्गुन २०७८, शनिबार १७:५१
काठमाडौं, शनिवार ७ फागुन
बूढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख पदमा सुमित खरेलले उम्मेद्वारी घोषणा गरेका छन्।
३२ वर्षे युवा खरेलले सुचना प्रविधी व्यवस्थापनमा स्नातक गरेका छन् भने अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन्। टिच फर नेपालको २ वर्षे फेलोसिप गर्नुको साथै अमेरिकाको सान डिएगो काउन्टीमा ५ हफ्ते प्रोफेसनल फेलोसिप गरेका छन्।
प्रत्येक राजनैतिक दलमा पुस्तान्तरणको कुरा उठ्ने तर युवालाई अवसर दिनुपर्ने अवस्था आउँदा ती जेष्ठ नागरिक भएर भत्ता खाएर बस्नुपर्ने व्यक्तिले नै पद नछाड्ने प्रचलनले वाक्क भएका युवामाझ पक्कै पनि सुमित खरेल प्रिय बनेकाछन्।
४ वर्ष नगरपालिकामा काम गरेर अनुभव सम्हालेका खरेलले केही समयअघि नगरको जिम्मेवारी छाडेका थिए।
अहिले नगरपालिकाले लिँदै आएको व्यवसाय कर र घर बहाल कर पचास प्रतिशत घटाउने उनको उदेश्य छ। त्यसको बदला नगर क्षेत्र भित्रका सम्पूर्ण घरहरु र व्यवसायलाई समेट्ने उनलेे बताए। नगर क्षेत्रको दिगो विकासको लागि नगर योजना आयोग स्थापना गर्ने लक्ष्य रहेकोे पनि खरेलले बताए।
नगरवासीको गुनासो सुन्न र त्यसलाई तदारुकताका साथ कार्यान्वयन गर्न कल सेन्टर स्थापना गर्ने खरेलको उदेश्य रहेको छ। बूढानीलकण्ठ नगरपालिका भित्र बसोबास गर्ने सबै नगरवासीलाई यो मेरो नगर हो भन्ने भावनाको प्रत्याभूति हुनेगरि कामगर्ने र राजनैतिक दलको भागबन्डाको केन्द्र हुन नदिने पनि खरेलले बताए।
रोजगारीको अभावमा दिनहुँ विदेशिन बाध्य युवाहरूलाई स्वरोजगार बन्न अभिप्रेरित गर्न रोजगारीमुलक शिपको प्रबर्द्धन गर्ने, नगर भित्रको बसोबास दैनिक रूपमा साँघुरिदै र अव्यवस्थित हुँदै गएको अवस्थालाई मध्येनजर गरेर नगर विकासको दीर्घकालीन योजना ल्याईने, डुबान हुने क्षेत्रलाई दिगो रूपमा समाधानका उपाय अवलम्बन गरिने, बालबालिका, महिला र जेष्ठ नागरिकको आधारभूत आवश्यकता परिपूर्ति हुने खालको योजना तर्जुमा गरिने, प्राकृतिक पर्यावरण संरक्षण र सम्बर्द्धन गरि ‘मेरो नगर समृद्ध शहर’ बनाउने खरेलका प्रमुख योजना रहेको छ। उनको बूढानीलकण्ठ नगरलाई समृद्ध शहर बनाउने सपनामा सम्पूर्ण युवाहरुको साथ रहने विश्वास छ।
सुमित खरेलले कुनै राजनैतिक दलमा आवद्ध भएर भने उम्मेदवारी घोषणा गरेका होइनन्।











प्रतिकृया दिनुहोस्