- ४ असार २०८३, बिहीबार २०:०८
काठमाडौँ । सेवा र विकासका लागि युवा संस्थाको आयोजना, भारत सरकारको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा नागार्जुन नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने तथा अध्ययनप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाअन्तर्गतका श्री जन उद्धार माध्यमिक विद्यालय, श्री रत्नराज्य माध्यमिक विद्यालय, श्री सीतापाइला माध्यमिक विद्यालय र श्री सीताराम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख श्री सुशीला अधिकारीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सेवा र विकासका लागि युवा संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेल, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव श्री लोग बहादुर चयडा, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका पशुपति विभाग व्यवस्था प्रमुख श्री अर्पण पौडेललगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले शिक्षालाई समाज परिवर्तनको आधारका रूपमा लिँदै विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न, आफ्नो क्षमता विकास गर्न तथा राष्ट्र निर्माणमा योगदान पुर्याउन प्रेरित गरेका थिए।
शिक्षामार्फत सक्षम, जिम्मेवार र राष्ट्रप्रति समर्पित युवा निर्माण गर्ने लक्ष्यसहित सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूमा थप ऊर्जा, प्रेरणा र अध्ययनप्रति सकारात्मक भावना विकास गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।










प्रतिकृया दिनुहोस्