- १ कार्तिक २०८२, शुक्रबार १९:०१
काठमाडौं , असोज ३१ । सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजको सहकार्यमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आज एक विशेष समारोहका बीच श्री हिमालय माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ ।
वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत मिहिनेती, अनुशासित र लगनशील विद्यार्थी प्रशान्त विश्वकर्मालाई रु. १४,००० (चौध हजार रुपैयाँ मात्र) छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रमका वक्ताहरूले प्रशान्त विश्वकर्माको परिश्रम, अनुशासन र अध्ययनप्रतिको समर्पणको प्रशंसा गर्दै उक्त छात्रवृत्ति उनको शैक्षिक यात्रा अझ सफल र प्रेरणादायी बन्न सघाउने विश्वास व्यक्त गरे। साथै, उनीजस्ता विद्यार्थीहरूलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रमहरूले विद्यालय समुदायमा सकारात्मक सन्देश पुर्याउने बताइएको थियो।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालका प्रतिनिधिहरूले सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजसँगको सहकार्यमा आगामी दिनमा पनि देशका विभिन्न विद्यालयमा यस्ता छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।
समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। आयोजक संस्थाले प्रशान्त विश्वकर्मालाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै प्राप्त छात्रवृत्ति रकम उनले अध्ययनमा लगानी गरी अझ उत्कृष्ट सफलता प्राप्त गर्ने आशा व्यक्त गरेको छ।










प्रतिकृया दिनुहोस्