- २९ भाद्र २०८२, आईतवार ०७:१३
दुई दिने जेनजी आन्दोलनका क्रममा धेरै पटक सुनिएको नाम हो, डिस्कर्ड । अहिले ‘प्रधानमन्त्री डिस्कर्डबाट छान्ने, संविधान च्याटजीपीटीबाट लेख्ने’ भन्दै मिमहरू पनि सामाजिक सञ्जालमा व्याप्त छन् ।
भदौ २५ गते जेनजीहरूले नयाँ सरकारका लागि कसरी अघि बढ्ने ? सेनासँग वार्ता गर्न को-को प्रतिनिधि जाने जस्ता विषयबारे युथ अगेन्स्ट करप्सन’मा छलफल गरे । यसलाई नेपालका केही मिडियाले ठूलै महत्व दिएर प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।
खासमा जेनजी आन्दोलनको सुरुआती चरणका छलफलहरू डिस्कर्डका सर्भरहरूमै भएका थिए ।
फेसबुक, इन्स्टाग्राम, टिकटक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जाल लोकप्रिय भएको नेपालमा डिस्कर्ड नवीन प्लेटफर्म हो । तर, अहिले नेपालबाट गुगल प्ले स्टोरमा सबैभन्दा बढी डाउनलोड गरिने एपमध्ये डिस्कर्ड नवौंमा उक्लिएको छ ।
यता गुगल ट्रेन्डमार्फत पछिल्लो एक हप्ताको वेब सर्चको ट्रेन्ड हेर्दा पनि डिस्कर्डलाई लिएर ह्वात्तै खोजी बढेको देखिन्छ । मान्छेहरूले बढीजसो जेनजी डिस्कर्ड, जेनजी डिस्कर्ड नेपाल, जेनजी डिस्कर्ड लिङ्क, हामी नेपाल जस्ता कीवर्डहरू प्रयोग गरेर डिस्कर्डको खोजी गरिरहेका छन् ।
सन् २०१५ को कुरा हो । अमेरिकाका दुई युवा उद्यमी जेसन सिट्रन र स्ट्यानिस्लाभ भिस्नेवस्कीले एउटा प्लेटफर्म सार्वजनिक गरे-डिस्कर्ड ।
त्यतिबेला इन्टरनेटमा फेसबुक, स्काइप, ह्वाट्सएप जस्ता प्लेटफर्महरूमार्फत अनलाइनच्याट सर्भिस चलिरहेका थिए । तर अनलाइन गेम खेल्नेहरूलाई चाहिने सुविधा ती प्लेटफर्मले दिन सकिरहेका थिएनन्।
गेम खेल्दा अर्को गेमरसामु आवाज ढिलो पुग्ने, कहिले आवाज नै काटिने, कहिले सेटअप गर्नै झन्झटिलो हुने जस्ता समस्याहरू ती प्लेटफर्महरूमा हुन्थे। त्यही असुविधाबाट दिक्क भएका युवाहरूलाई नयाँ विकल्प दिने उद्देश्यले जेसन र स्ट्यान (स्ट्यानिस्लाभको छोटो नाम)ले डिस्कर्ड बनाएका हुन् ।
एक त उनीहरू आफैं पनि गेम खेल्न मन पराउने मान्छे थिए । त्यही भएर गेमरहरूले खेलमा रमाउन भन्दा बढी च्याट मिलाउन र समस्या सल्टाउन समय खर्चिरहनु परेको उनीहरूलाई मज्जैले थाहा थियो । किनकि त्यस्तो हुँदा खेलको मजा नै हराउँथ्यो ।
अनि यही समस्याको समाधान गर्न उनीहरूले साधारण तर विश्वसनीय भोइस च्याट प्लेटफर्म बनाउन तिर लागे । र, केही महिनामै बनाइ छाडे । तर सुरुमा सानो समूहलाई मात्र प्रयोग गर्न दिइएको थियो । तर, प्लेटफर्मको फिचरका कारण यो एप चाँडै चर्चामा आयो ।










प्रतिकृया दिनुहोस्