- १४ भाद्र २०८२, शनिबार ०६:५२
काठमाडौँ, भदौ १३ – नेपाल–भारत र नेपाल–चीनबीच रहेका सीमा विवादको स्थायी समाधानका लागि कूटनीतिक पहललाई प्राथमिकतामा राख्न प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रधानमन्त्री के.पी. शर्मा ओलीसमक्ष सुझावपत्र पेश गरेको छ।
परिषद्ले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बुझाएको सुझावपत्रमा नेपाल–भारत र नेपाल–चीनबीच पटक–पटक कूटनीतिक पहल भए पनि ठोस परिणाम नआएको भन्दै अब हुने प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणलाई सीमा विवाद समाधानमा केन्द्रित गर्न आग्रह गरिएको छ।
परिषद्को ध्यान हालै १९ अगस्टमा भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री र भारतबीच लिपुलेक हुँदै व्यापारिक सम्झौतामा भएको सहमतिप्रति ध्यानाकर्षण भएको जनाछ । नेपाललाई सहभागी नगराई गरिएको यस्तो सम्झौता नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीत भएको भन्दै परिषद्ले आपत्ति जनाएको छ।
सुझावपत्रमा कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, लिमी, रुई, भोटखोला लगायतका विवादित क्षेत्र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्नुपर्ने स्पष्ट उल्लेख छ। दुबै छिमेकी मुलुकसँग सहमति र सम्मानका आधारमा दीर्घकालीन समाधान गर्नुपर्नेमा परिषद्ले जोड दिएको छ।
नेपालको हित, सार्वभौमिकता र समृद्धिका लागि यथार्थपरक र स्पष्ट विदेश नीति अपनाउँदै भारत र चीनलाई विश्वासमा लिएर सीमा समस्याको स्थायी समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको परिषद्को सुझावपत्रमा उल्लेख छ।










प्रतिकृया दिनुहोस्