- २ फाल्गुन २०७८, सोमबार २०:२२
फागुन २, तुलसीपुर । प्रेम दिवसको अवसर पारेर यतिवेला प्रेमप्रेमिकाहरु एकअर्कालाई भेट्न र माया पोख्न आतुर छन् । खास गरेर टिनएजर्स युवायुवतीहरुमा यसको रौनक विशेष देख्न सकिन्छ । केही समययता युवायुवतीहरुले प्रेम दिवसलाई पर्वकै रुपमा मनाउन थालेका छन् । विभिन्न कलेजमा अध्ययरत युवायुवतीहरु हातमा गुलाब बोकेर हिडिरहेको देख्न सकिन्छ ।
तर तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले भने अलिक फरक ढँगले प्रेम दिवस मनाएका छन् । उनीहरु हातमा गुलाब र उपहार होईन कुटो र कोदालो बोकेर विरुवालाई मलजल गर्नुका साथै नयाँ विरुवा समेत रोपेको देखिएका थिए ।
कलेजको वन विज्ञान र कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुले माटो र प्रकृतिप्रतिको प्रेमलाई दर्शाउनका लागि प्रेम दिवसको दिन छनोट गरेका थिए ।
मानिसलाई बाँच्नका लागि प्रकृतिको महत्व निकै हुने भन्दै उनीहरुले प्रकृतिलाई माया गरेको सन्देश प्रवाह गर्न नयाँ ढँगले दिवस मनाइएको वताए । आफुले पढ्ने विषयसँग सम्बन्धित भएर दिवसलाई सामाजिक जागरण फैलाउनका लागि केन्द्रित गरिएको विद्यार्थीहरुले वताए । हरेक दिवसलाई सन्देशमुृलक ढँगले मनाउन सकिए युवाहरुमा नयाँ सोचको विकास हुने विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुको सृजनात्मक सोचलाई मुर्तता दिनका लागि कलेजले सहयोग गरेको कलेज प्रमुख वसन्त आचार्यले वताए । प्रेम दिवसप्रतिको धारणामा परिवर्तन ल्याउनका लागि विद्यार्थीहरुले नयाँ ढँगले कार्यक्रम आयोजना गरेको समेत उनको भनाई छ ।











प्रतिकृया दिनुहोस्