- ३ श्रावण २०८२, शुक्रबार १५:१७
काठमाडौं । साउन महिनाको नेपाली समाजमा विशेष सांस्कृतिक र धार्मिक महत्व रहेको छ । हिन्दू धर्मावलम्बीका लागि यो महिना पवित्र मानिन्छ, जसमा भगवान् शिवको पूजा-व्रत गरी परिवारको सुख, समृद्धि, स्वास्थ्य र दाम्पत्य जीवन सफल होस् भन्ने कामना गरिन्छ ।
साथै, यो समय किसानका लागि धान रोपाइँको व्यस्त र महत्वपूर्ण समय पनि हो । यस महिनासँगै महिलाहरूको पहिरन, शृंगार र धार्मिक क्रियाकलापमा पनि विशेष परिवर्तन देखिन्छ । विशेषगरी हरियो र पहेंलो चुरा, पोते र मेहेन्दी लगाउने परम्परा साउन महिनाको एउटा छुट्टै विशेषता हो । हरितालिका तीजसँग समेत जोडिएको यो चलन सौन्दर्य, स्त्री शक्ति र प्रजनन् शक्तिको प्रतीक मानिन्छ । साथै, यस्ता परम्परागत वस्तुहरू लगाउँदा सर्पदंशबाट जोगिने विश्वाससमेत रहिआएको छ । असनका व्यापारीहरूका अनुसार साउन महिनामा चुरा, पोते र मेहेन्दीको माग निकै बढ्ने गर्छ । सामान्य महिनाको तुलनामा यो महिनामा सातदेखि आठ लाख रुपैयाँसम्मको कारोबार हुने गर्छ । तर, पछिल्ला वर्षहरूमा बजारको अवस्था पहिले जस्तो उत्साहजनक नरहेको उनीहरू बताउँछन् ।
असनस्थित मखन टोलमा चुरा व्यापार गर्दै आउनुभएकी व्यापारी बिना स्थापित भन्नुहुन्छ, ‘१० वर्षअघि मखन गल्लीमा चुरा व्यवसाय मैले नै सुरु गरेकी थिएँ । त्यतिबेला पसल कम थिए, आम्दानी राम्रै हुन्थ्यो । अहिले भने पसलहरू धेरै भएका छन्, प्रतिस्पर्धा तीव्र छ । अहिले दैनिक पाँच हजार बिक्री हुन पनि गाह्रो छ, भाडा तिर्नै मुस्किल भइसक्यो । यस्तै अवस्था रहे अर्को व्यवसायतर्फ मोडिनुपर्ने हुन्छ ।’ इन्द्रचोकका पोते व्यापारी रियाज खनालको अनुभव पनि यस्तै छ । ‘हामी सात पुस्तादेखि यही व्यवसाय गर्दै आएका हौं । पहिले साउन महिनामा दैनिक २० हजारभन्दा बढी बिक्री हुन्थ्यो, अहिले १० हजार पुग्न पनि मुस्किल छ । माग कम भएको महसुस हुन्छ । मूल्यचाहिँ सधैंजस्तै स्थिर छ,’ उहाँले बताउनुभयो ।
यद्यपि साउनको सौन्दर्य परम्परागत धारबाट मात्र सीमित नभई ‘फेसन’सँग पनि जोडिन थालेको देखिन्छ । विशेषगरी युवतीहरूमा हरियो-पहेंलो चुरा र मेहेन्दी फेसनका रूपमा पनि लोकप्रिय हुँदै गएको छ । यसरी साउन महिनाले एकातिर सांस्कृतिक र धार्मिक आस्थालाई बल पुर्याउँछ भने अर्कोतिर बजारमा पनि विशेष चहलपहल ल्याउँछ । यद्यपि पछिल्ला वर्षहरूमा बिक्री घट्दै गएको व्यापारीहरूको गुनासोले परम्परागत व्यवसायले सामना गरिरहेको चुनौती पनि झल्काउँछ ।










प्रतिकृया दिनुहोस्