- १० असार २०८२, मंगलवार १६:४२
हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।
पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका घोषणा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए । पालिका क्षेत्रभित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने सामूहिक प्रतिबद्धता भएसँगै पालिकालाई बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिएको उनले उल्लेख गरे । बालश्रम तथा बालविवाहमुक्त घोषणा गर्ने अभियानअन्तर्गत खार्पुनाथ–१ मा गत जेठ १६ गते, वडा नं २ मा २२ गते, वडा नं ३ मा २३ गते, ४ मा १४ गते र वडा नं ५ मा २० गते घोषणा गरिएको गाउँपालिकाका अधिकृत दिपक शाहीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार केही दिनअघि जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षीया बालिकाबीच भएको विवाह पनि बदर गरिएको छ । जिल्लामा पहिलो पटक उमेर नपुगी गरिएको बालविवाह बदर भएको उनले जानकारी दिए ।










प्रतिकृया दिनुहोस्