- ८ असार २०८२, आईतवार १५:०६
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार १७औं नगरसभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरूमा हरित छत बनाउने विषय समेटिएको छ ।
छतमा जस्ता पाता लगाउने कार्यलाई निरुत्साहित गर्दै लैजाने नीति अनुरूप हरित छत बनाउने नीति महानगरले लिएको नगर प्रमुख रेनु दाहालले बताइन् ।
चितवनमा घरका छतमा जताततै गर्मी छल्न भनेर टिनका ट्रस लगाउने गरेको पाइन्छ । महानगरपालिकाले मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षारोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका विरुवा नि:शुल्क वितरण गर्ने र भरतपुरलाई हरियाली तथा फलफूलको शहरका रूपमा विकास गर्ने नीति लिइएको छ ।
पछिल्लो समयमा विकासका नाममा वर्षौं पुराना वरपिपलका चौताराहरू नाश हुने क्रम तीव्र बनेको बेला भरतपुर महानगरपालिकाले वरपिपलका चौताराहरू बनाउने र रोप्ने अभियान चलाउने जनाएको छ ।
महानगर भित्रका सार्वजनिक जग्गा तथा स्थानमा यस्ता कार्यलाई निरन्तरता दिँदै जाने महानगरले जनाएको छ । स्थानीय टोल विकास संस्थाहरूमार्फत वरपिपलका चौताराहरू बनाउने र संरक्षण गर्ने कार्यलाई अगाडि बढाउने नीति महानगरको छ ।
महानगरले एकीकृत सहरी विकास गुरुयोजना बमोजिम सवल पूर्वाधारमा आधारित पूँजी निर्माणको नीति लिएको महानगरले “दीगो पूर्वाधार, समृद्धिको आधार” भन्ने नारा तय गरेको छ ।
मुख्य सहरी क्षेत्रमा ढलसहितको कालोपत्रे सडक निर्माण गर्ने, संघीय सरकारसँगको सहलगानीमा महानगरभित्रका वडा नं. २९ कविलास, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आव २०८२/८३ बाट कार्यान्वयन प्रारम्भ गर्ने महानगरले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारहरूलाई भूमिगत प्रणालीमा लैजाने कामलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर उज्यालो भरतपुरको नारालाई सफल बनाउने लक्ष्य महानगरको छ ।
महानगरपालिकाभित्रका खोला तथा नाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रहरूको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, नारायणी नदी किनारमा निर्मित सी बीच मोडेलसहितको मनोरञ्जन पार्कलाई गुरूयोजना बमोजिम सञ्चालन गर्ने, महानगरभित्रका नगर गौरवका आयोजनाहरूलाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीतिअनुरूप लायन्स चोकमा महानगरीय व्यावसायिक भवन यसै आवमा निर्माण सुरु गर्ने नीति तथा कार्यक्रममा छ ।
संघ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्करोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने, निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मी नारायण मन्दिर तथा पार्कलगायतका आयोजनाहरू निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख छ ।
सिँचाइ, खानेपानी, सामुदायिक भवन, सतह ढल, सडक ढलान लगायतका योजनाहरूमा कम्तीमा १० प्रतिशत जनसहभागिता अनिवार्य गर्ने र जनसहभागिता नजुट्ने योजनाहरू; विद्यालयका भौतिक संरचनाहरू, कलभर्ट तथा सडक कालोपत्रे गर्ने कार्यलाई अनिवार्य बोलपत्रको माध्यमबाट कार्यान्वयनमा लैजाने नीति महानगरले लिएको छ ।










प्रतिकृया दिनुहोस्