- ६ असार २०८२, शुक्रबार १६:५५
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले १० वटा सेवाहरु अब अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रविधिको अधिकतम प्रयोग गर्दै यस निकायबाट उपलब्ध हुँदै आइरहेका सेवाहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन १० वटा सेवाहरु अनलाइनमार्फत प्रदान गर्ने भएको हो।
देशको उच्चशिक्षाको लगभग ८० प्रतिशत विद्यार्थी अध्ययरत यस विश्वविद्यालयले निर्माण गरेको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्ने जिम्मेवारी निकाय समेत रहेकोले वार्षिक पाँच लाख विद्यार्थीहरुलाई लव्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, मूल प्रमाणपत्र, रजिष्ट्रेशन, माइग्रेसन लगायतका विभिन्न दश (१०) प्रकारका सेवाहरु उपलब्ध गराउँदै आइरहेको विश्वविद्यालयले जनाएको छ।
सीमित स्रोत/साधन, अपर्याप्त प्राविधिक तथा दक्ष जनशक्ति, शैक्षिक तथा प्रशासनिक चुनौतीका बावजुत सेवाग्राहीको चाहना, अपेक्षा र सहजतालाई केन्द्रविन्दुमा राखी सेवाप्रवाहलाई प्रविधिको प्रयोग मार्फत विद्युतयिकरण गर्दै आइरहेका विश्वविद्यालयले जनाएको छ। साथै देशभर उच्चशिक्षा प्राप्त गर्ने अधिकतम विद्यार्थीहरुका महत्वपूर्ण शैक्षिक कागजातहरुको सुरक्षा, अभिलेखिकरण र समग्र परीक्षा प्रणालीको गोपनियता र संवेदनशिलता प्रति परीक्षा नियन्त्रण कार्यालय सदैव सचेत र गम्भीर हुँदै आइरहेको समेत उल्लेख गरेको छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीकाले विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ , कार्यलय आउनै पर्दैन’। यसअघि परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो ।
यी हुन् अनलाइनबाट हुने सेवा :
१) त्रिवि रजिष्ट्रेशन आवेदन फाराम
२) परीक्षा आवेदन फाराम
३) ट्रान्सक्रिप्ट आवेदन फाराम
४) प्रोभिजनल सर्टिफिकेट
५) मूल प्रमाणपत्र
६) पूर्नयोगका लागी आवेदन फाराम
७) शैक्षिक कागजातमा नाम/बर/रजिष्ट्रेशन लगायत सच्चाउने फाराम
८) विभिन्न सिफारीस पत्रहरु
९) प्रमाणपत्रहरुको प्रमाणिकरण
१०) प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट










प्रतिकृया दिनुहोस्