- २३ जेष्ठ २०८२, बिहीबार १४:४२
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद् पद स्वतः निलम्बन भएको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद् पद स्वतः निलम्बन भएको हो।
प्रतिनिधि सभा सञ्चालन नियमावली २०७९ मा भने मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा बस्नुपर्ने समयमा मात्र निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने उल्लेख छ। प्रतिनिधि सभा सञ्चालन नियमावली २०७९ को २४८ को उपनियम ३ मा भनिएको छ,‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ।’
उपनियम ४ मा भनिएको छ,‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परि कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ।’
आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो।










प्रतिकृया दिनुहोस्