- १२ जेष्ठ २०८२, आईतवार १८:०५
काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेर कारागारसम्म पुर्याउने स्वास्थ्यकर्मी रोशनी शाही मृत फेला परेकी छन् । शाही आज भक्तपुरमा मृत फेला परेकी हुन् ।
श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा भित्रबाट ढोका लागेको र धेरै समय ढक्ढक्याउँदा पनि ढोका नखेले पछि ढोका फोडेर हेर्दा उनी भुँइँमा लडेकी थिइन् ।
स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोडेर हेर्दा शाही भुँइँमा लडेकी थिइन् भने त्यसबेलासम्म उनको श्वासप्रश्वास समेत बन्द भइसकेको थियो । शरीरमा कुनै पनि घाउचोट नभएको र अत्यधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।
२०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्नेत तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो । त्यसक्रममा महराको चस्मा फुटेको थियो । रोशनी संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी थिइन् ।
सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् ।
महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।
पीडित भनिएकी रोशनीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कार प्रयासको आरोप खण्डन गरेकी थिइन् । उनको इन्कारी निवेदन र बकपत्रमा महरा आफ्नो कोठामा नआएको लेखेकी थिइन् । त्यही तथ्यमा टेकेर जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।










प्रतिकृया दिनुहोस्