- २ चैत्र २०८१, शनिबार ०६:४८
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरू अशान्त बन्दै गएका छन् । विशेषगरी सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूको गतिविधिले क्याम्पसमा तोडफोड, अवरोध र झडपका घटना बढेका छन् । तर, यस्ता घटनामा प्रहरी भने निरीह देखिएको छ । शुक्रबार मात्र ताहाचललगायत कलेजमा झडप भएका थिए ।
ठुला राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूबिच तनावका कारण विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ । विशेषगरी कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुबिचको प्रतिस्पर्धाले स्थिति जटिल बनाएको छ । सत्तापक्षको भ्रातृ संगठनका विद्यार्थीले तोडफोड गर्दासमेत प्रहरीले ठोस कारबाही गर्न सकेको छैन ।
हाल काठमाडौंमा त्रिवि केन्द्रीय क्याम्पस र शंकरदेवसहित आठवटा क्याम्पसमा तालाबन्दी छ । विश्वभाषा, एनआर कलेज, ग्रामीण आदर्श कलेज, पब्लिक युथ क्याम्पस, पिपुल्स क्याम्पस, सरस्वती बहुमुखी क्याम्पसमा तालाबन्दी छ । यी क्याम्पसमा उम्मेदवारी दर्ता समाप्त भइसकेको छ ।
त्यस्तै, विवाद हुँदा काठमाडौंका अन्य पाँच क्याम्पसमा उम्मेदवारी नै दर्ता हुन सकेको छैन । जसमा आयुर्वेद क्याम्पस कीर्तिपुर, कोटेश्वर बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, पद्मकन्या क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, कैलाशकुट बहुमुखी क्याम्पस र काठमाडौं शिक्षा क्याम्पस छन् ।
त्यस्तै, दल दर्ता नभएका क्याम्पसहरूमा गान्धी आदर्श मावि, नेपाल ल क्याम्पस, जनमैत्री बहुमुखी क्याम्पस, एडभान्स इन्जिनियरिङ कलेज छन् । त्यस्तै, विद्यार्थी संख्या कम नभएर चुनाव नहुने अवस्थामा काठमाडौंका दुई क्याम्पस छन् । जसमा बौद्ध बहुमुखी क्याम्पस र ब्रिलियन्ट क्याम्पस रहेका छन् ।
ठुला क्याम्पसमा विवाद बढ्दो
शंकरदेव क्याम्पसमा मंगलबारदेखिको तालाबन्दी अझै खुलेको छैन । यहाँ तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । मतदाता फर्जी बनाएको भन्दै विद्यार्थी संगठनबिच तनाव भएको थियो । तर, २७ फागुनदेखि तालाबन्दी गरिए पनि चुनाव नै अनिश्चित बनेको छ । एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले यहाँ तालाबन्दी गरेका छन् ।
क्याम्पसका स्ववियु अध्यक्ष सुशान्त बस्नेतमाथि अन्य विद्यार्थीले आरोप लगाउँदै तालाबन्दी गरेका हुन् । बस्नेतले कोष दुरुपयोग गरेर विद्यार्थी भर्ना गरेर षड्यन्त्र गरेको विद्यार्थी नेताहरूको दाबी छ । उनीहरूले चार सयभन्दा बढी फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् ।
केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघले लगाएको ताला अझै खुल्न सकेको छैन । गत बुधबार नेविसंघकका असन्तुष्ट पक्षले तालाबन्दी गरेका थिए । ताला खोल्नुपर्ने भन्दै अनेरास्ववियुले त्रिवि उपकुलपति कार्यालयको ध्यानाकर्षणसमेत गराएको छ । नेविसंघमा उम्मेदवारी विवाद हुँदा सोही पक्षका विद्यार्थी नेताले तालाबन्दी गरेका छन् ।
गत २३ फागुनमा नेविसंघका नेतासहिका विद्यार्थीले त्रिविका रेक्टर डा. खड्ग केसीको कार्यकक्ष तोडफोड गरेका थिए । सो घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
लैनचौरमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा पनि चुनावी प्रक्रिया अवरोध छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियूले मतदाता र उम्मेदवारी दर्ता समयमै नआएको भन्दै अवरोध गरेको हो । हाल निर्वाचन समितिले नै यहाँ मनोनयन प्रक्रिया रोकेको छ ।
पब्लिक युथ क्याम्पसमा अखिल क्रान्तिकारीले अवरोध गरेको छ । नेविसंघ र अनेरास्ववियुले नक्कली मतदाता खडा गरेको भन्दै उसले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको छ ।
विश्वभाषा क्याम्पसमा पनि अखिल क्रान्तिकारी र नेविसंघबिचको विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । यहाँ निर्वाचन समितिले स्थिति असामान्य भएको भन्दै निर्वाचन प्रक्रिया रोकेको छ ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा उम्मेदवारी दर्ता गराउने समय मंगलबार २ बजेसम्म तोकिएको थियो । तर, अन्य क्याम्पसमा ४ बजेसम्म तोकिएको थियो । अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै अवरोध गरिरहेको छ ।
कालीमाटीको एडभान्स इन्जिनियरिङ क्याम्पसमा पनि तोडफोड भएको छ । क्याम्पसको कुर्सी, झ्यालढोका तोडेफोड गरेको भन्दै तीनजनालाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ । यद्यपि, शुक्रबार साँझ भने तालाबन्दी खोलिएको छ । पक्राउ पर्ने तीनजना एमालेनिकट अनेरास्ववियुका विद्यार्थी नेता हुन् ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तनाव उत्पन्न भएको छ । चुनावको विषयलाई लिएर विद्यार्थी तोडफोडमा उत्रिन थालेपछि प्रहरीले त्यसहाँका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । नेविसंघका कार्यकर्ताले त्यहाँ तीनवटा कुर्सी तोडफोड गरेका छन् । संगठनले उठाएको उम्मेदवारमाथि असन्तुष्टि जनाउँदै इतर पक्षले विरोध गरेको हो ।
विद्यार्थी संगठनबिच सुर्खेत बहुमुखी क्याम्पसमा पनि लफडा भएको छ । यहाँ पनि विद्यार्थी नेताहरूले तोडफोड गरेका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुनिकट विद्यार्थीले बुधबार बेलुकी नै क्याम्पसको झ्यालढोका र फनिर्चर तोडफोड गरेका थिए । तर, प्रहरीले भने उक्त तोडफोडमा संलग्नलाई पक्राउ नै गरेको छैन । यहाँ अनेरास्ववियुकै अर्को पक्षले विवाद गर्दा तोडफोड भएको हो । विवाद भए पनि निर्वाचनको कार्यक्रम स्थगित भएको छ ।
रुपन्देहीका दुई ठुला क्याम्पस बुटवल र भैरहवा बहुमुखी क्याम्पसमा पनि तालाबन्दीका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । पाँच विद्यार्थी संगठनले १८ फागुनमा निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । क्याम्पसमा तोडफोड पनि भएको थियो । त्यस्तै, क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनले २५ फागुनमा बुटवल क्याम्पस, निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । यहाँ पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले प्रहरीले तोडफोड गर्नेलाई उजुरीका आधारमा पक्राउ गरेको बताए । ‘प्रहरीले झडप देखेको अवस्थामा त्यहीँबाट प्रक्राउ गर्छ, तर कतिपय केसमा चाहिँ उजुरी नपाएकाले पनि पक्राउ नगरिएको हो,’ उनले भने, ‘आवश्यकता हेरेर सुरक्षा कडा पारेका छौँ ।’ उनका अनुसार विवाद भएका क्याम्पसहरूमा बिहानैदेखि रातिसम्म प्रहरी परिचालन गरिएको छ ।










प्रतिकृया दिनुहोस्