- २५ फाल्गुन २०८१, आईतवार १८:४४
काठमाडाैँ – प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डिजिटल शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस बारे बताएका हुन्।
जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ।,’उनले भने। शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने उनले बताए।
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्दे उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु चिन्ताजनक रहेको बताए। उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तिलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमका माध्यमबाट शिक्षा लिनैका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जानकारी दिए। शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको उनले बताए। दीक्षित भएका विद्यार्थीलाई ओलीले आफ्नै देशमा नवीनतम् काम गर्न सुझाव दिए।










प्रतिकृया दिनुहोस्