- १४ पुष २०८१, आईतवार २१:५४
सन्तोष आचार्यको जीवनी
वि क्र २०४१ सालमा झापा जिल्लामा जन्मिनुभएका आचार्यले मेचि क्याम्पसबाट स्नातक तह पास गरि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गर्नु भयो । उहाँ मेचि क्याम्पसमा रहँदा प्राज्ञिक विद्यार्थी परिषदमा सकृय भइ विद्यार्थीकाे व्यक्तित्व र नेतृत्व विकासका लागि रचनात्मक काम गर्नु भयो । उहाँ विद्यार्थी परिषदमा राष्ट्रिय सचिव सम्मकाे जिम्मेवारी पूरा गरि सामाजिक अभियान्ताकाे रूपमा काम गर्न थाल्नु भयो । त्यस विचमा केही समय सडक विभागमा पनि कार्य गर्नु भयो भने २०७२ सालदेखि निरन्तर रूपमा खाेज तथा अनुसन्धानकाे क्षेत्र सकृय रहँदै ८ वर्षसम्म नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धान कर्ता र कार्यालय प्रमुखकाे रूपमा काम गर्नु भयो । उहाँले सनातन धर्म संरक्षण, हिन्दू दर्शन र परम्परागत विधि (विधानबारे सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति बनाउनुभएको छ । आचार्यको लेख सामाजिक सञ्जालमा एक प्रेरणादायी ऊर्जा बन्यो। फेसबुकमा करिब ३० हजारभन्दा बढी फलोअर रहेका उहाँको प्रत्येक पोस्टले सयौं शेयर र प्रतिक्रियाहरू पाउँथ्यो। सनातन धर्मका मूल्य, दर्शन र विधिहरूको व्याख्या गर्दै उहाँले युवापुस्तामा परम्पराको महत्व जागृत गराउने अमूल्य योगदान पुऱ्याउनुभयो।
ब्रेन टुमरका कारण उहाँले यो नाश्वर शरिर त्याग्नु पर्यो तर उहाँका विचार भने सनातन चौतारी लगायत समग्र ऊँकार परिवारले सम्झिहनेछ।
शैक्षिक पृष्ठभूमि र जीवनको आदर्श
सन्तोष आचार्यले समाजशास्त्र र अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभयो । साथै, अंग्रेजीमा बीए र बीएड गर्दै आफ्नो ज्ञानको परिधिलाई फराकिलो बनाउनुभएका उहाँ एक विद्वान् शिक्षाविद् मात्र होइन, अनुसन्धानमा गहिरो रुचि राख्ने अनुसन्धानकर्ता पनि हुनुहुन्थ्यो । समाजको दिगो विकास र समृद्धि उहाँका आजीवन उद्देश्य थिए।
व्यक्तिगत जीवन र सामाजिक भूमिका
सन्तोष आचार्य स्व. सालिग्राम आचार्य र लक्ष्मी आचार्यका सुपुत्र हुनुहुन्छ । उहाँका तीन दाजु र एक दिदीमध्ये सबैभन्दा कान्छा हुनुहन्थ्यो। उहाँकी पत्नी पूजा आचार्य र पुत्र आर्याधित आचार्य हुनुहुन्छ ।
आचार्य समाजको हितका लागि यात्रा गर्न रुचाउने र समुदायका लागि समर्पित भावना राख्नुहुन्थ्यो । उनले परम्परा र आधुनिकताबीच सन्तुलन राख्दै समाजको दिगो विकासका लागि नयाँ सोच र दृष्टिकोण प्रस्तुत गर्नुभयो । उहाँ सधै लोभ लालचबाट मुक्त रहनुभयो । देशको धर्म संस्कृतिका हितमा निडरताका साथ प्रस्तुत हुनुभयो ।
सनातन धर्मको मर्मलाई बुझाउँदै समाजमा यसको प्रचारप्रसार गर्नु उहाँको जीवनको प्रमुख उद्देश्य थियो। आधुनिक समाजमा हिन्दू परम्परालाई नयाँ ढंगले बुझाउने र व्याख्या गर्ने उहाँको क्षमता अतुलनीय थियो। उहाँका विचारहरूले धेरैलाई मार्गदर्शन गर्यो र सनातन धर्मप्रति विश्वास अझ प्रगाढ बनायो।
सन्तोष आचार्यको असमयिक निधनले नेपाली समाज मात्र नभई समग्र हिन्दू समाजले एक कुशल अभियन्ता, विद्वान्, र समर्पित धर्मसंरक्षक गुमाएको छ।










प्रतिकृया दिनुहोस्