- ४ पुष २०८१, बिहीबार १८:५२
पुष ४, काठमाडौं । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विशेषगरी कक्षा ९ र ११ को रजिस्ट्रेसन र परीक्षा फाराम भर्न ढिलाई भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनिएता पनि यसको कार्यान्वयन हुन नसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् । शुल्क उठाउने कि नउठाउने भन्ने विवादले विद्यार्थीलाई परीक्षा फारम भर्न ढिलाइ भइरहेको छ ।
कक्षा ९ को रजिस्ट्रेशन फारम पुषको पहिलो साता भरिसक्नुपर्ने हो । तर अहिलेसम्म शुल्क उठाउने वा नउठाउनेमा नै अन्योलमा छन् ।
कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेल मन्त्रालयको निर्णय कुरिरहेको बताउनुहुँदै भन्नुुभयो, “शुल्क नलिनेगरी फाइल उठाएर मन्त्रालयका पठाएका छौँ । मंसिर मसान्तसम्म टुंगो लगाउने भनेको थियो तर निर्णय आएको छैन ।” थप उहाँले भन्नुभयो, “क्यालेन्डर अनुसार रजिस्ट्रेशन भराउने समय यो हप्ता हो । लिने वा नलिने निर्णय होला ।”
शिक्षा मन्त्रालयले ९ को रजिस्ट्रेशन शुल्क नलिन अर्थ मन्त्रालयमा पत्र पनि पठाइसकेको छ ।
कक्षा ९ को रजिस्ट्रेशन शुल्क राजश्वमा जान्छ । त्यसैले निःशुल्क गर्न अर्थ मन्त्रालयको सहमति आवश्यक परेकाले ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।
कक्षा ९ को रजिस्ट्रेशन शुल्क राजश्वमा जाने रहेछ । यो विषयमा राजश्व लिन पाइँदैन भनेर शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको जानकारी दिनुहुँदै शिक्षामन्त्री विद्या भट्टराईले भन्नुभयो, “अर्थमन्त्रालयबाट सुनिश्चतता आएको छैन ।”
९ कक्षामा रजिस्ट्रेसनबाट वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको बताउँदै परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “राजश्व छुट गर्न अर्थ मन्त्रालयले सहमति दिनुपर्छ ।”
परीक्षा नियन्त्रण कार्यालयले अर्थ मन्त्रालयको सहमति कुरेको हो । काम अगाडि बढाउँदा फरक नपर्ने शिक्षामन्त्री भट्टराईले बताउनुभयो ।
उता राष्ट्रिय परीक्षा बोर्डले ११ को रजिस्ट्रेशन फारम भरेर शुल्क उठाइसकेकाले यो वर्ष लागु गर्न कठिन हुने बताउँदै आएको छ । बोर्डले कात्तिकमै विद्यार्थीलाई फाराम भराएको थियो ।
शिक्षा मन्त्रालयले यो वर्ष उठाएको भए अर्को वर्ष भने नउठाउन अहिले नै निर्देशन दिएको छ । रजिस्ट्रेशन शुल्क मात्र होइन, ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम नभराउन पनि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।
९ मा रजिस्ट्रेशन फारम भरेपछि ११ मा भर्नुपर्दैन । यो वर्ष फारम भरेर शुल्क उठाएको भए अर्को वर्षबाट नलिने निर्णय अहिले नै गर्न बोर्डलाई निर्देशित गरेको पनि मन्त्री भट्टराईले बताउनुभयो ।
अहिले ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएको छ । कक्षा १२ सम्म विद्यालय तहको शिक्षा भएकाले दुई पटक रजिस्ट्रेशन भर्नु नपर्ने तर्क शिक्षा मन्त्रीको हो । तर राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी भने ९ र ११ दुवैमा रजिस्ट्रेशन फारम भर्नुपर्ने पक्षमा छन् ।










प्रतिकृया दिनुहोस्