- २२ कार्तिक २०८१, बिहीबार १०:०३
देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिना (साउन, भदौ र असोज) मा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एक लाख ७० हजार पाँच सय ९३ जना पुगेको छ। यो तीन महिनामा वैदेशिक रोजगारीमा जाने युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।
नेपालीले रोजगारीका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई नै हो। रोजगारीका लागि साउनमा विदेसिएका ५९ हजार पाँच सय ७५ जना मध्ये युएई जानेको संख्या १७ हजार पाँच सय ४१ जना छ।
त्यसैगरी भदौमा विदेसिएका ५७ हजार चार सय ९३ जना युवामध्ये १८ हजार ६ सय पाँच जना र असोजमा ५३ हजार पाँच सय २५ जनामध्ये १७ हजार सात सय २४ युवाहरू श्रम स्वीकृति लिएर युएई पुगेका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो।
गत आर्थिक वर्षबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। यसले चालु आर्थिक वर्षको तीन महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिट्यान्स वृद्धि हुने देखिएको छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ साउनदेखि असारसम्ममा मात्रै एक लाख ९३ हजार चार सय ३८ युवा श्रमका लागि युएई पुगेका थिए। जसमा एक लाख ६६ हजार चार जना पुरूष र २७ हजार चार सय ३४ जना महिला श्रम स्वीकृति लिएर विदेसिएका छन्।
यस तथ्यांकमा श्रम स्वीकृति नलिई युएई पुगेका युवाको भने गणना छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्। विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्यामा कमी नआएको बताए। रोजगारीका प्रमुख गन्तव्य मुलुक खाडी भएसँगै यो वर्ष पनि विदेसिनेको संख्या गत वर्षकै नजिक पुग्ने देखिएको बताउँछन्।
उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म युएई पहिलो श्रम गन्तव्य बनेको छ। असोजमा मात्रै युएईका लागि १७ हजार सात सय २४ जना, साउदी अरेबिया १० हजार चार सय ६८ जना, कतार नौ हजार सात सय ९८ जना, कुवेत तीन हजार आठ सय ७ जना र रोमानियाको लागि दुई हजार २०४ जना श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक विभागसँग छ।
‘नेपालीहरूको पहिलो रोजाइ युएई बनेको छ,’ सुवेदीले भने, ‘श्रमिकलाई मलेसिया जान बन्द भएर पनि हो युएई जानेको संख्या उच्च भएको। पछिल्लो वर्ष नेपाली श्रमिकको नयाँ गन्तव्य युरोप बनेको छ तर युरोपको प्रक्रिया चाल्दा असफल भएको खण्डमा खाडीलाई प्राथमिकता दिने हो। खाडीमध्येको पनि पहिलो रोजाइ भनेकै युएई हो ।’ खाडी राष्ट्रको तुलनामा सेवा सुविधा र श्रमिकमैत्री कानुन भएकाले पनि युरोप नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको विभागका सूचना अधिकारी सुवेदीले बताए।










प्रतिकृया दिनुहोस्