- ८ कार्तिक २०८१, बिहीबार ०५:५६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ग्लोबल सिटिजनसिप एजुकेशन सम्बन्धी तीन दिने बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । एसिया प्यसिफिक सेन्टर अफ एजुकेशन फर इन्टरनेशनल अण्डरस्ट्याण्डीङ (एपिसिईआईयू)को सहकार्य तथा प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको मुख्य उदेश्य नेपालमा गुणस्तरीय शिक्षा प्रवर्धन गर्न, ग्लोबल सिटिजनसिप एजुकेशनलाई समावेश पाठ्यक्रम तथा पाठ्यसामग्री कसरी निर्माण गर्ने र शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने रहेको थियो ।
साथै दिगो विकासको लक्ष्य अनुसार बुँदा नं. ४ अन्तर्गत ७ नम्बरमा रहेको दिगो विकास सम्बन्धी शिक्षा र ग्लोबल सिटिजनसिप एजुकेशनलाई कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको थियो । यसै सन्दर्भमा अहिलेको शिक्षा नीतिमा के छ, गुणस्तरीय शिक्षाका लागि के गर्नु पर्छ, पाठ्यक्रममा के छ, ग्लोबल सिटिजनसिप एजुकेशनलाई कसरी समावेश गर्न सकिन्छ, मूल्याङ्कनलाई प्रभावकारी कसरी बनाउने र यसका लागि शिक्षक तालिमलाई कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
नेपालको सन्दर्भमा ग्लोबल सिटिजनसिप एजुकेशनलाई कतिसम्म कार्यान्वयन गर्न सकिन्छ र युनेस्कोले निर्माण गरेका पद्धतिहरूलाई कक्षा कोठामा लैजाने बारे र विद्यार्थीलाई रचनात्मक र समालोचनात्मक बनाउने बारे छलफल भएको थियो ।
एशिया प्यसिफिक सेन्टर अफ एजुकेशन फर इन्टरनेशनल अण्डरस्ट्याण्डीङ (एपिसिईआईयू)की डेपुटी हेड योम जियोन्जिमिनले एपिसिईआईयू युनेस्कोको एउटा भग रहेको र यसले दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा ग्लोबल सिटिजनसिप एजुकेशनका बारेमा काम गरिरहेको बताउँदै शान्तिका लागि, दिगो विकास प्राप्तिका लागि र समृद्धिका लागि शिक्षामा सुधार गर्न आवश्यक रहेको बताइन । साथै यसका लागि व्यावहारिक र गुणस्तरीय शिक्षाको महत्व रहेको उल्लेख गरीन ।
भूमण्डलीय समस्या, युद्ध, अशान्ति, वातावरण परिवर्तन, प्राकृतिक प्रकोप, मानव अधिकार, मूल्यमा आधारित शिक्षा, एआईको प्रयोग, नैतिक शिक्षा लगायतका विषयलाई विद्यालय शिक्षामा जोडेर जानुपर्नेमा उनको जोड् थियो । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विज्ञ, सरोकारवालाहरू गरी ५० जनाको सहभागिता रहेको थियो ।











प्रतिकृया दिनुहोस्