- १० श्रावण २०८१, बिहीबार २०:४२
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम सेमेस्टरको ‘संस्कृत काव्यशास्त्र’ विषयको प्रश्न दोहोरिएको छ।
गत वर्षको प्रश्नपत्रमा उल्लेख भएका सबै प्रश्नपत्र यस वर्ष पनि हुबहु राखिएको छ। ऐच्छिक नेपाली विषयको उक्त परीक्षा बुधबार मात्रै सञ्चालन भएको थियो।
त्रिवि नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डिन कार्यालयलाई पठाए पनि डिन कार्यालयबाट पुरानै प्रश्न प्रिन्ट भएको बताइएको छ। विभागका प्रमुख कृष्णप्रसाद न्यौपानेले दुई सेट प्रश्नपत्र तयार पारेर डिन कार्यालयलाई पठाइएको बताए।
‘डिन कार्यालयका कर्मचारीले नयाँ प्रश्न प्रिन्ट गर्नुपर्नेमा पुरानो प्रिन्ट गरेर यस्तो भएको हो। यसमा हाम्रो कुनै पनि गल्ती छैन,’ उनले भने, ‘हामीले सेट वान र सेट टू गरेर हार्ड कपी र सफ्ट कपी दिएका हौँ। यसको जिम्मेवारी डिन कार्यालयको हो, हामीले सचेत भएर प्रश्न बनाएको हो, तर त्रिविलाई बदनाम गर्ने काम भयो।’
त्रिविका सूचना अधिकारी भीमबहादुर श्रेष्ठले प्रश्नपत्र एउटै भएको विषयमा डिन कार्यालय र विभागसँग जानकारी लिएर सत्यतथ्य पत्ता लगाइने बताए। मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्रा.डा. कुसुम शाक्यले यो मानवीय त्रुटि भएको बताइन् । (श्राेत : नयाँ पत्रिका )










प्रतिकृया दिनुहोस्