- ३१ असार २०८१, सोमबार २१:४५
असार ३१, काठमाडौं । नेकपा एमालेले विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा पठाएको छ । उनले कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी छन् । उनले पहिलो पटक उपनिर्वाचनमा र दाेश्राे पटक प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चुनाव जितेकी थिइन ।
यस पटक नेकपा एमालेका ४ जना महिलाले प्रत्यक्ष तर्फ निर्वाचन जितेका थिए । तीमध्ये विद्या भट्टराई एक हुन् । आफूलाई पार्टीले शिक्षा मन्त्रालयजस्तो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएकोमा आफूलाई अवसर र चुनौती दुवै आएको महसुस भएको बताउँछिन् ।
विद्यार्थी राजनीतिमा रुचि राख्ने भट्टराई रवीन्द्र अधिकारीसँग विवाह भएपछि उनले राजनीतिलाई पन्छाएर शिक्षण तथा प्राध्यापन पेशा थालेकि थिइन् ।
त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक उनी २०७५ फागुन १५ गते पति रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पुन: एमालेको सकृय राजनीतिमा फर्किएकी थिइन् ।
शिक्षा मन्त्री भए पछि के भन्छिन् उनी
उनी भन्छिन्, ‘मेरो अनुभव र ज्ञानको आधारमा प्राप्त भएको मन्त्रालय हुनाले म सकेसम्म बेस्ट दिने प्रयत्न गर्ने छु । मैले शिक्षा समितिमा बस्दा पनि देश विदेशको शिक्षा प्रणालीबारे राम्रो अध्ययन गरेको छु । त्यसलाई विज्ञहरूको सुझाव लिएर व्यवहारिक बनाउन छलफल चलाउँछु ।’
उनले ‘मेरो रुचि यही क्षेत्रमा थियो । शिक्षा क्षेत्रलाई सुधार्न सक्यो भने नेपालको अवस्थामा धेरै सुधार हुन्छ । शिक्षा क्षेत्रमा वक्तव्य बजेटअनुसार काम भएको छैन । धेरै समस्या छ । यी सबै कुरालाई मध्यनजर गरेर काम गर्छु ।’
नेपालबाट दिनहुँ पढ्न र कमाउन विदेशिनेको सङ्ख्या बढिरहेकाले जीवनोपयोगी र रोजगारसापेक्ष शिक्षाको आवश्यकतामा ध्यान दिने बताउँछिन् ।
उनले भनिन, ‘पछिल्लो पटक एसइईको रिजल्ट हेर्दा हाम्रो शिक्षा प्रणालीका जटिलता हटाउने र शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने देखिएको छ । यो संकटको सामना गर्न गाँठो फुकाएर अगाडि बढ्छु ।’
विद्याको चुनौती
यस पटक अर्थ पछि अन्य मन्त्रालयमा भन्दा शिक्षा मन्त्रालयमा धेरै बजेट छ । यसको सही उपयोग गर्न आफू चनाखो पूर्ण काम गर्ने मन्त्री भट्टराईकाे भनाइ छ ।
पूर्वशिक्षा मन्त्री श्रेष्ठले पनि आफूले सम्हालेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको कारण धेरै कामहरू गर्न सकिने बताउँदै आएकी थिइन् । तर सत्ता समिकरण परिवर्तन भए पछि त्याे भनाइमा मात्र सिमित भयो ।
चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा शिक्षाका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको सरकारले यस वर्ष ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गरेको थियो ।
यसकारण शिक्षा मन्त्रालय अर्थपछि सकैभन्दा बढी बजेट भएको मन्त्रालय भएकाले भट्टराईलाई काम गरेर देखाउनुपर्ने चुनौती छ।
किन पनि चुनाैती छ भने शिक्षा मन्त्री सुमना श्रेष्ठले थालेकाे कदमलाई निरन्तरता दिन त्यति सजिलो छैन । पछिल्लो मन्त्रीले क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्यका लागि धेरै कार्यविधिहरू तयार गरेकि थिइन अब त्याे कसरी कार्यनयन गर्ने ? त्यसैगरी दलमा लागेका शिक्षकलाई दल त्याग गर्न शिक्षा मन्त्रालयले चलायएकाे अभियान निरन्तर अगाडि बढि रहेको छ । अब त्याे अघि बढि रहँन्छ कि राेकिन्छ ? किन भने उनकै पार्टिमा कयौं शिक्षकहरू सकृय छन् साथै एमाले निकट शिक्षक संगठन पनि अलगै छ । यसाे गर्दा पार्टिले उनलाई भाेलि राेक्न सक्छ ।
तेस्रो सुमना श्रेष्ठले क्याम्पस विश्वविद्यालयमा दलगत वैचारिक संगठन हटाउने अभियान अगाडि बढाइरहेकी थिइन त्याे अभियान एमालेलाई सुरुदेखि नै चित्त बुझेको थिएन किन भने धेरै वैचारिक संगठन त एमाले कै छ । यसमा पनि उनलाई धेरै चुनाैती छ ।
त्यसैगरी आम व्यक्ति र जनताको बुझाईमा नेपालकाे शिक्षा क्षेत्र विग्रनुमा शिक्षा क्षेत्रमा भएको दलीय भागबन्डा, दलका भातृ संगठन र गैरजिम्मेवार नेतृत्व नै हाे भन्ने छ । त्यसलाई ठिक नगरेसम्म शिक्षा क्षेत्र सुधार नहुने निष्कर्ष छ । यस्तो परिस्थितिमा वर्तमान नवनियुक्त शिक्षा मन्त्रीले कसरी ठिक गर्छन् याे उनको लागि चुनाैती पूर्ण विषय हाे ।










प्रतिकृया दिनुहोस्