- २५ असार २०८१, मंगलवार १५:२८
असार २५, काठमाडौँ । कृष्ण प्रसाद हुमागाईं , सुसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणको मुख्य आधार भनेको संस्कारयुक्त शिक्षा हो । आचरण र कर्तव्य सिकाउने शिक्षा, कुल र धर्मको ज्ञान दिने शिक्षा, त्याग र समर्पण सिकाउने मूलाधार शिक्षा हो । संस्कार र संस्कृति सिकाउने शिक्षा, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुता सहितको सभ्यता सिकाउने शिक्षा नै नैतिक शिक्षा हो । यो समतामूलक समाज निर्माणको आधार पनि हो । नैतिक मूल्य–मान्यता, धर्म, प्रेम, शान्ति, सहकार्य, सहिष्णुता र अहिंसायुक्त समाज नै समतामूलक समाज हो । नैतिक शिक्षाको अनुशासित मार्गमा दायित्व र जिम्मेवारीको यात्रा गर्ने वातावरण निर्माण गरिन्छ ।
समष्टिमा शिक्षा एउटा व्यक्तिको जीवनमा सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो । यसमा योग्य शिक्षक एवं गुरुको भूमिका महत्त्वपूर्ण हुन्छ । विशेष गरी यस लेखमा नैतिक शिक्षा र संस्कृत शिक्षाको महत्वबारे वर्तमान समयमा यसको सान्दर्भिकताको विषयमा विचार प्रस्तुत गरेको छु ।
नैतिकता भनेको समाजले ’सही’ वा ’गलत’ मान्ने व्यवहारको प्रणाली हो । नैतिक शिक्षा भनेको समाजको असल र सही व्यवहारलाई भविष्यका नागरिकहरूमा हस्तान्तरण गर्ने क्रियाकलाप हो । नैतिक शिक्षाको उपयोग निश्चित धर्म संस्कृति या नीतिका कथाहरूमा अभ्यस्त हुने या तुल्याउने मात्र नभई यसलाई मानव जीवनका मूल्यहरूसँग सम्बन्धित गराई आचरण, चरित्र, गुण र त्यसलाई व्यवहारमा उतार्ने उपयुक्त माध्यम समेत हो । नैतिक शिक्षा विषयको पाठ्यक्रमको मूलभूत उद्देश्य आधुनिक समाजका लागि सुयोग्य, स्वावलम्बी एवम् कर्तव्य र अधिकारलाई सन्तुलित ढङ्गले प्रयोग गर्न सक्ने प्रतिस्पर्धी नागरिक तयार गर्नु हो । नेपालमा परापूर्वकालदेखि नै शिक्षाको प्रमुख उद्देश्य विद्यार्थीहरूमा उच्च नैतिकता र असल चरित्र निर्माण गर्नुरहेको थियो ।
यस विपरीत आज मानिस नैतिकताविहीन भएको छ । भ्रष्टाचार, ढाँट, छल, कपट, चोरी डकैतीमा मानिस बढी चतुर हुन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता नै हो, तर आज त्यही नैतिकताविहीन अवस्थामा मानव समुदाय दिग्भ्रमित हुँदै गएको आभास हुन्छ । तल्लो तहदेखि माथिल्लो तहसम्म नैतिक शिक्षाको खडेरी परिको अनुभूति हरेक व्यक्तिलाई भइरहेको छ । देशकै प्रधानमन्त्रीले समेत देशमा नैतिक शिक्षाको संकट भइरहेको विषयमा चिन्ता व्यक्त गर्नु ठुलो व्यङ्ग्य मान्नुपर्छ किन भने नैतिक शिक्षा हटाउनेले पनि नैतिकताको अपेक्षा राख्दछन् । त्यसैले नैतिक शिक्षा आज अपरिहार्य छ । नैतिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय, घरपरिवार र समाज हो । तर पनि त्यहाँ नैतिकताको नै अभाव खड्किएको देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिरभित्र गैर जिम्मेबार, कमिसनखोर, भ्रष्टाचार, ढिलासुस्ती, कामचोर प्रवृत्ति, नातावाद कृपावाद, पार्टीवाद, परिवारवाद, व्यक्तिवाद, जातिवाद र अतिवादसमेतको अखडा बनिरहेको छ । यो अत्यन्त दुखद् विषय हो । छोराछोरीको भविष्य उज्ज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दाभन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलिपल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो तर त्यो हुन सकिरहेको छैन किन भने प्राविधिक– व्यावहारिक, सीपको अभावले छ । नेपालमा दिइने शिक्षा लङ्डो छ र विदेशको भरिया हुन पनि लायक छैन ।
आज सीयुक्त र ज्ञानवान शिक्षामा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिँदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन असल, कर्तव्यनिष्ठ र इमानदार व्यक्तिको आवश्यकता छ ।
हाम्रो नैतिक शिक्षाले सानैदेखि विद्यार्थीलाई धर्म र संस्कृति नभएको व्यक्ति, समाज र राष्ट्र सिङे रूखजस्तै हुन्छन् । “धर्मो एव हतो हन्ति, धर्मो रक्षति रक्षितः श्लोकलाई “धर्मको रक्षा नगरे हाम्रो रक्षा हुँदैन, धर्मको रक्षा गरे यसले हाम्रो रक्षा गर्छ” भनी सिकाइन्थ्यो । “चोर्नुहुन्न, मिहिनेत गरेर पढ्नुपर्छ, सादा जीवन जिउनुपर्छ, अरूलाई दया गर्नुपर्छ, बाआमालाई आदर सम्मान र माया गर्नुपर्छ र गुरुमा श्रद्धा राख्नुपर्छ” भन्ने उपदेश दिइन्थ्यो । साथै सूर्योदय हुनुभन्दा डेढ घण्टा पहिले नै हामी उठ्नुपर्छ । यस समयमा सुतिरहनेको स्वास्थ्य त खराब भइ नै हाल्छ, अलिकति कमाएको धर्म या पुण्य पनि नाश हुन्छ भन्ने ज्ञान दिइन्थ्यो जसले गर्दा विद्यार्थीलाई सचेतना र सजग गराइन्थ्यो । यसबाट विद्यार्थीहरू अनुशासित र सभ्य बन्दै जान्थे । तर आज त्यस्ता सद्विचार आज हराउँदै गयो ।
संस्कृत शिक्षाको महत्त्व “सम्” उपसर्ग ‘कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो ।
संस्कृत भाषाबाट नै विश्वका धेरै भाषाहरू प्रभावित छन् भने कतिपय भाषाहरू संस्कृतबाट नै तत्सम तद्भव शब्दको रूपमा विकसित भएका छन् । संस्कृत भाषामा नै वेद, उपनिषद् रामायण, पुराण, धर्मशास्त्र र महाभारत आदि जस्ता ज्ञान विज्ञानले परिपूर्ण ग्रन्थहरू विश्वमा नै चर्चित एवं मूल्यवान छन् । अथाह ज्ञान, विज्ञान, चेतना, बुद्धि, प्रबिधि र विवेकको स्रोत बोकेको संस्कृत आर्यजातिले सर्वप्रथम प्रयोग गरेको हुँदा यसलाई आर्य भाषा पनि भनिएको हो । संस्कृत वाङ्मयहरूमा पनि यसका वक्ताहरूलाई आर्य भनेर सम्बोधन गरिएको पाइन्छ । आर्यको अर्थ सभ्य भनिन्छ, भनिएको पनि छ “कृण्वन्तो विश्वमार्यम्” ।
पहिले कक्षा ४ देखि संस्कृत भाषाको पढाइ हुने गरेकामा माओवादी सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले षड्यन्त्रमूलक गाउँगाउँमा ’जबरजस्ती’ संस्कृत भाषाको अध्यापन बन्द गराएको थियो । पछि संस्कृत भाषालाई ऐच्छिक विषयका रूपमा राखिएको र थोरै मात्रै विद्यालयहरूमा पढाइ हुने गरेको थियो । तर त्यो पनि पछि आएर पूर्ण रूपमा विद्यालयतहबाट हटाइयो र संस्कृत सिक्न गुरुकुल नै जानुपर्ने अवस्था सिर्जना गरियो । जसको परिणाम स्वरूप संसकृत भाषा र शिक्षाबाट आम विद्यार्थीलाई विमुख गराइयो ।
“संस्कृत शिक्षा हिजो जुन ढंगले हाम्रो पाठ्यक्रमबाट हटाइयो त्यो पुनः समावेश गर्न ढिला भइसकेको छ । यूरोप अमेरिकासहित विश्वमै संस्कृत अध्ययनमा तीव्र चासो बढिरहेको अवस्थामा नेपालका शासक भने कुम्भकर्णे निद्राबाट जाग्न नसक्नु दुर्भाग्य नै मान्नुपर्छ ।” जब विश्व ब्रह्माण्डका ज्ञानको भण्डार भएको हाम्रो धार्मिक ग्रन्थहरू पढनलाई हामीले भाषा नै बुझदैनौँ अनि कसरी हाम्रो विकास हुन सक्छ ? कसरी हामी ती ज्ञान र विज्ञानको प्रयोग गर्न सक्छौँ ? आज संस्कृत भाषा नजानेकै कारणले हाम्रो गीता, पुराण, वेद उपनिषद् रामयण, महाभारत जस्ता विशिष्ट ग्रन्थहरको अध्ययन गर्नबाट बञ्चित भएकाछौँ । भएको विज्ञानलाई हामीले बुझ्न सकिरहेका छैनौँ । हिजो जुन धर्मशास्त्रको ज्ञानको आधारमा विश्व ब्रह्माण्ड चलेको थियो त्यो ज्ञान बारे नै हामीलाई जानकारी हुन सकेन भने कसरी हामीले उन्नति, प्रगति र विकास गर्न सक्छौँ ?
सेनापत्यं च राज्यं च दण्डं नेतृत्वमेव च ।
सर्वलोकाधिपत्यं च सर्वशास्त्र विदर्भति ।।
श्रीमद्भागतवको चौथो स्कन्धका यी हरफको भावार्थ हुन्छ– संसारमा सेनापति बन्नु छ, राज्य गर्नु छ, कसैलाई दण्ड दिनु छ, संसारमा शासन गर्नु छ भने शास्त्रको अध्ययन गर । शास्त्र संसारमाथि आफ्नोपन जमाउने आधारबीज हो । यी हरफले संसारमा शासन गर्न र संसारको नेतृत्व गर्न आवश्यक पक्षलाई उजागर गरेको छ । यो नै पूर्वीय साहित्य चिन्तनमा देखापरेको भावना र त्यसले अभिव्यक्त गर्ने आधार हो । यस श्लोकका अनुसार पनि हामीमा संस्कृत भाषाको ज्ञान हुनु आवश्यक छ । किनभने हरेक क्षेत्रको नेतृत्व गर्न, असल व्यत्ति बन्न शास्त्रको अध्ययन गर्नु पर्छ जुन शास्त्र संस्कृत भाषामा लिपिबद्ध छ । जब हामीमा संस्कृत भाषाको ज्ञान नभएसम्महुँदैन तव हामीलाई ज्ञानार्जन गर्न कठिन हुन्छ । संस्कृतमा एउटा वाक्य छ ।
“जानाति विविधा भाषा जानाति विविधाः कलाः ।
आत्मानं नैव जानति यो न जानति संस्कृतम् ।।”
यसको तात्पर्य हो– विभिन्न भाषा, कला जाने पनि जसले संस्कृत भाषा जानेको छैन भने त्यसले आत्मालाई चिनेको छैन । त्यसैले मानिसले मानिसलाई वा आफूलाई चिन्न समेत संस्कृत शिक्षाको आवश्यता रहेको तथ्यलाई यहाँ उल्लेख गरिएको छ ।
तसर्थ हाम्रो देशको आत्मालाई चिन्न, आफुलाई चिन्न र विश्वको ज्ञानको भण्डार रहेका ग्रन्थहरू वेद, महाभारत, गीता, पुराण, रामायणजस्ता शास्त्रहरूमा अध्ययन गर्नु अपरिहार्य छ । त्यसैले संस्कृत शिक्षा हिजो जुन ढंगले हाम्रो पाठ्यक्रमबाट हटाइयो त्यो पुनः समावेश गर्न ढिला भइसकेको छ । यूरोप अमेरिकासहित विश्वमै संस्कृत अध्ययनमा तीव्र चासो बढिरहेको अवस्थामा नेपालका शासक भने कूम्भकण निद्राबाट जाग्न नसक्नु दुर्भाग्य नै मान्नुपर्छ । संस्कृत शिक्षाले जस्तो सामाजिक ज्ञान, पारिवारिक ज्ञान, राजनीतिक ज्ञान, नैतिक ज्ञान, वैज्ञानिक ज्ञान आजको कुनै पनि शिक्षा पद्धतिमा छैन र आजको मेकाले शिक्षा पद्धतिले दिन पनि सक्दैन । आजको आधुनिक विज्ञानको मूल स्रोत नै हाम्रा वेद दार्शनिक ग्रान्थहरू हुन भन्ने कुरा वैज्ञानिकहरूले नै प्रमाणित गरिरहेका छन् । नासाको खोज अनुसन्धानले हाम्रो धार्मिक ग्रन्थको ज्ञानलाई आधार मानेर कयौँ आधुनिक प्रविधिहरूको विकास गिरएका छन्, जुन हाम्रो संस्कृत शिक्षाको देन हो ।
“जहाँको शिक्षामा चरित्रको महत्त्व भेटिन्न, संस्कार र संस्कृति सिकाउन सक्दैन, नैतिक आचरण र व्यावहार सिकाउदैन्, मानवताको मूल्य सकिाइन्न, संसकार, संस्कृति र पद्धति नामेट पार्न ओजिन्छ त्यो देश पतनको बाट तर्फ जाने निश्चित् छ ।” यस विषयमा शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र सरकारले विशेष ध्यान दिएर संस्कृत शिक्षा विद्यालयमा सञ्चालन गर्नु अत्यावश्यक छ । विद्यालय तहमा संस्कृत विषयलाई सञ्चालन गर्ने विषयमा केही विज्ञहरूले भाषा त पछि पनि सिक्न सकिन्छ भन्ने तर्कहरू दिने पनि गरेका छन् ।
यो त साना बच्चालाई आमाको दुध ठुलो भएपछि पिलाए पनि हुन्छ भने जस्तो भयो । किन भने संस्कार, संस्कृति र नैतिक शिक्षा सानै उमेरमै दिनुपर्छ त कि पछि त्यसको आधारमा असल मान्छे तयार हुन सक्छ । तसर्थ आज विस्तारै हाम्रा वालवालिकाहरूमा संस्कार, संस्कृति र नैतिकताको क्षयीकरण हुँदै गइरहेको समयमा प्रारम्भिक तहदेखि नै विद्यालयमा सस्ंकार र संस्कृत सहितको नैतिक शिक्षा अपरिहार्य छ ।
त्यसले अन्त्यमा, जहाँको शिक्षामा चरित्रको महत्व भेटिन्न, संस्कार र संस्कृति सिकाउन सक्दैन, नैतिक आचरण र व्यावहार सिकाउँदैन, मानवताको मूल्य सिकाइन्न, संसकार, संस्कृति र पद्धति नामेट पार्न ओजिन्छ त्यो देश पतनको बाट तर्फ जाने निश्चित छ । (लेखक संचारकर्मी हुनुहुन्छ )
(यो लेख छात्र विचार द्धैमासिक पत्रिकाबाट साभार गरिएको हो )










प्रतिकृया दिनुहोस्