- ८ असार २०८१, शनिबार १२:४४
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सर्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ । बोर्डले आउँदो साता भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
नतिजा प्रकाशनका लागि बोर्डले सबै काम सकेर अन्तिम रुजु गरिरहेको जनाएको छ ।
बालबालिकामा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत ग्रेडमा पर्ने भन्ने चिन्ता छ । तर यो चिन्ता लिन आवश्यक नरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेल बताउँछन् ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन ।
सैद्धान्तिक परीक्षामा ३५ भन्दा कम प्रतिशत अङ्कभार र आन्तरिक मूल्याङ्कनमा ४० भन्दा कम प्रतिशत अङ्कभार आएमा ग्रेड सिटमा * स्टार दिइने छ । दुई विषयसम्म एनजी ल्याएका वा दुई विषयमा अनुपस्थित भई अन्य सबै विषयमा ३५ र सोभन्दा बढी प्रतिशत ल्याएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् भने दुईभन्दा बढी विषयमा एनजी प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले पुनः सोही कक्षाको नियमित पठनपाठन व्रिmयाकलापमा सहभागी हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।
आन्तरिक–प्रयोगात्मक परीक्षामा कम्तीमा सी ग्रेड र सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड ल्याएमा मात्र स्तरीकृत अङ्क औसत एभरेज जीपीएसहितको ग्रेड सिट दिइने छ ।










प्रतिकृया दिनुहोस्