- ३० जेष्ठ २०८१, बुधबार १७:५४
बालाजु माछापोखरीमा केन्द्रीय कार्यालय रहेको ‘मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ ।
सहकारी सञ्चालक समिति र उनीहरूका आफन्त र व्यक्तिगत लगानी भएका कम्पनीमा ऋण लगानी गर्दै अपचलन गर्ने गरेको तथ्य भेटिएको हाे ।
प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान अनुसार मेगा ड्रिम सहकारी अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, लेखा समिति संयोजक उमाकान्त न्यौपाने र सञ्चालक शेखर बस्नेतले संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत जग्गा किनेको, ऋण लिएर नतिरेको तथा निजी कम्पनीमा समेत लगानी गरेको खुलेको छ ।
प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त सहकारी अध्यक्ष रेग्मीसहित १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हाे । सहकारी संस्थाका १ सय ६१ बचतकर्ताको २१ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबर मागदाबी परेको छ ।
प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सजाय गरी जाहेरीकर्ताको मागदाबी समेत उपलब्ध गराउन माग गरिएको छ ।
सहकारीले काठमाडौं उपत्यकाका सात ठाउँमा सेवा केन्द्र स्थापना गरी सर्वसाधारणबाट बचत संकलन गर्दै आएको थियो ।
सहकारीमा काम गरेका एक कर्मचारीका अनुसार विभिन्न सेवा केन्द्रमा कर्मचारी तथा आफन्त समेतलाई उच्च ब्याजको प्रलोभन दिएर बचत संकलन हुने र संकलित बचत सोही सेवा केन्द्रमार्फत लगानी भए पनि अन्य रकम भने केन्द्रीय कार्यालयमा ट्रान्सफर हुने गरेको थियो ।










प्रतिकृया दिनुहोस्