- २८ चैत्र २०८०, बुधबार २०:३४
काठमाडौँ । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियामाथि कारबाही गर्न सिफारिस गरेको पाइएको छ ।
मेडिकल कलेज सम्बन्धमा वर्तमान परिस्थितिमा नयाँ कार्यक्रमहरू र थप कलेजहरूलाई सम्बन्धन दिन नसकिने भनी विधिवत् गरेको निर्णयलाई उचित र प्रयाप्त कारणबिना उल्लंघन गरेको भन्दै आयोगले कारबाही सिफारिस गरेको देखिन्छ ।
त्यस्तै त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० मा उल्लेखित व्यवस्थाअनुसार नियम ३७९ (२) र ३७९ (३) बमोजिम विद्यापरिषद्को सहमति लिने प्रक्रिया पुर्याउनेतिर नलागी मेडिकल कलेजलाई सम्बन्धन दिलाएको पाएको प्रतिवेदनमा उल्लेख छ ।
विद्या परिषद्को बैठकमा तत्कालीन डीन प्राडा प्रकाश सायमीलाई तत्कालीन उपकुलपति, रेक्टर र रजिष्ट्रारहरूबाट सहमति दिलाउनको लागि दबाब दिएका कारण राजीनामा गर्न बाध्य पारेको प्रतिवेदनमा उल्लेख छ ।
देशको जेठो र ठुलो विश्वविद्यालयको नेतृत्वका हैसियतले जिम्मेवारी एवम् उत्तरदायित्व बहन गर्नुपर्नेमा सो नगरी उपकुलपति, रेक्टर र रजिष्ट्रार जस्ता अति जिम्मेवार पदाधिकारीले पदअनुसारको काम, कर्तव्य पालना र आचरण नगरकाले पदमा राखिरहन उचित नभएकाले निजहरूलाई पदबाट अवकाश दिने र भविष्यमा सरकारी तथा अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आवश्यक निर्णय गर्न सरकारलाई सिफारिस गरेको थियो ।










प्रतिकृया दिनुहोस्