- ३ माघ २०८०, बुधबार ११:३५
काभ्रेका एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा उनीमाथि सामूहिक बलात्कार भएको हो। भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरूले गत पुस २७ गते साँझको समयमा बलात्कार गरेको प्रहरीको दाबी छ।
युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरूमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन्।
४ जनाले जङ्गलमा लगेर मुख थुनेर संयुक्त रूपमा जबरजस्ती करणी गरेको पीडितले बताएकी छिन्। बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले उद्धार गरेको थियो।
प्रहरीले उद्धार गरेपछि उनले आफू बलात्कारमा परेको र पीडा सहन नसकेर आत्महत्याको प्रयास गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्यचन्द्र पुरुष ढकालले जानकारी दिनु भयो। पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि उहाँले बताउनु भयो।










प्रतिकृया दिनुहोस्