- १८ पुष २०८०, बुधबार २१:५६
काठमाडौँ ,१८ पुस । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण परीक्षा तालिका सर्ने हल्ला भए पनि त्यस्तो कुनै निर्णय नभएको र परीक्षा कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तोकिएको मितिमा हुने बताउँदै भूकम्प प्रभावित क्षेत्रका बारेमा स्थलगत अवलोकन गरेर निर्णय लिने बताए । उनले भने ‘परीक्षा सार्ने कुरा हुँदैन, स्थलगत अवलोकन गर्न हामी जाँदै छौँ, वस्तुस्थित कस्तो छ, हेरेर निर्णय लिन्छौँ । सबैको परीक्षा सार्ने भन्दा पनि भूकम्प प्रभावित क्षेत्रको अवस्था हेरेर दुई जिल्लाको परीक्षा पछि लिन सकिन्छ । तर, त्यो सम्भावना पनि न्यून छ ।’
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा पठनपाठनमा असर परेको कुरा आफूले सुनेपनि आधिकारिक कुनै जानकारी नआएको र परीक्षा सार्ने बारे व्यक्तिहरूसँग भएका कुराकानी मात्रै भएकोले तोकिएको मितिमै परीक्षा सञ्चालन हुने बताए ।
यसबारे बुझन बोर्डका पदाधिकारी यही शुक्रवार जाजरकोट र रुकुम पश्चिमको भ्रमण गर्दै छन् । साथै बोर्डको कार्यतालिका अनुसार चैतको पहिलो साताबाट एसईई परीक्षा सञ्चालन गर्ने जनाएको छ ।










प्रतिकृया दिनुहोस्