- २५ कार्तिक २०८०, शनिबार ०७:४०
काठमाडौं : शरद् ऋतुमा कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ।
यम भनेको यमराज र पञ्चक भनेको पाँच दिनको समूह भन्ने हो। दीर्घायुष्यका लागि मृत्युका देवता यमराजको पूजा गरिने हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो।
महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि पौराणिक ग्रन्थमा यमद्वितीया (भाइटीका) र यमपञ्चकबारे चर्चा भएको छ। पौराणिक कथनअनुसार मृत्युका देवता यमराज हुन्। उनी सूर्य र संज्ञाका पुत्र हुन्। यमराजकी बहिनी यमुना हुन्।
कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन यमराज आफ्नी बहिनी यमुनालाई भेट्न उनका घर गएका थिए। कार्तिक शुक्ल द्वितीयाका दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमराज यमुनाकहाँ बसे, यमुनाले दाजु यमराजलाई प्रेमपूर्वक स्वागत सत्कार गरिन्। यमराज प्रसन्न भएर बहिनीलाई के वरदान दिऊँ भने।
यमुनाले आज हामी दाजुबहिनी भेट भएको प्रेममय दिन हो। अबदेखि प्रत्येक वर्ष आजका दिन सबै दाजुभाइ दिदीबहिनीकहाँ गएर भोजन गरून् भन्ने वर मागिन्।
यमराजले तिम्रो इच्छा पूर्ण होओस्, आजका दिन दिदीबहिनीका हातको टीका लगाउने र दिदीबहिनीका घरमा भोजन गर्ने व्यक्तिले पुत्रपौत्र, धनसम्पत्ति, आयु र कीर्ति प्राप्त गर्नेछ भन्ने वरदान दिए। त्यहीँदेखि यमपञ्चकलाई दाजुभाइ र दिदीबहिनी भेट हुने उत्सवका रूपमा मनाउन थालियो।
यमपञ्चककै बीचमा लक्ष्मीपूजा पनि पर्दछ। त्यसैले यी पाँच दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने र अपमृत्यु नहोस् भनेर यमराजको पूजा गर्ने दोहोरो महत्त्व बोकेका उत्सवका दिन हुन्।
सुखी जीवनका लागि लक्ष्मीको र लामो आयुका लागि यमराजको पूजा गरिने यो पर्व बाँचुन्जेल यस लोकको सुखभोग र जीवनपश्चात् स्वर्गीय सुख चाहनेहरूका लागि महत्त्वपूर्ण अवसर हो।
नीति भन्छ, ‘धनाद्धर्मस्ततः सुखम्’ धनबाट धर्म आर्जन गर्न सकिन्छ, अनि धर्मले सुख प्राप्त हुन्छ। वर्णाश्रम व्यवस्थाअन्तर्गत ब्रह्मचर्य आश्रमपछिको गृहस्थ आश्रम धन आर्जन गर्ने समय हो।
२५ वर्षदेखि ५० वर्ष उमेरसम्मको यस अवस्थामा न्यायपूर्वक प्रशस्त धन आर्जन गर्ने इच्छा राख्नुपर्छ, यो शास्त्रसम्मत कुरा हो। जीवनको यो सक्रिय अवस्थामा धन आर्जन गर्नाले त्यसपछिको अवस्थामा धर्म आर्जन गर्न सहयोग पुग्छ। यस सन्दर्भमा नीतिको भनाइ छ-
प्रथमे नार्जिता विद्या द्वितीये नार्जितं धनम् ।
तृतीये नार्जितो धर्मश्चतुर्थे किं करिष्यति?
जसले जीवनको पहिलो अवस्थामा विद्या आर्जन गरेन, दोस्रो अवस्थामा धन आर्जन गरेन र तेस्रो अवस्थामा धर्म आर्जन गरेन भने चौथो अवस्थामा त के गर्नसक्छ र? अर्थात् जीवन निरर्थक हुन्छ। त्यसैले धर्मपूर्वक धन आर्जन गर्नु शास्त्रसम्मत कुरा हो। न्यायपूर्वक आर्जन गरिने चोखो धनका लागि प्रेरित गर्ने अवसर लक्ष्मीपूजा हो।










प्रतिकृया दिनुहोस्