- २६ मंसिर २०७८, आईतवार १३:३२
काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार घोषणा गरेका डा.शेखर कोइरालाले प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेता कोइरालाले आइतबार आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै सभापति पदमा ‘एक कार्यकालको’ लागि मात्र उठेको बताएका छन्।
‘हाम्रा अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा “एक कार्यकालको” लागि मात्र उठेको छु।’ प्रतिबद्धता सार्वजनिक गर्दै कोइरालाले भनेका छन्,’ चार वर्षको कांग्रेस सभापतिको कार्यकालमा पार्टीको विचार, संगठन, नेतृत्वमा नयाँधार र नयाँपन ल्याउने विश्वासको साथ आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा संक्षिप्त विचार र कार्यक्रमसहित उभिएको छु । यसको विस्तृत रुप यथासमय ल्याउने बाचा गर्दछु।’
उनले पार्टीलाई युवाको जोस र पाकाहरुको अनुभवबाट अगाडि बढाउने बताएका छन्। उनले ‘नयाँ युवाको नयाँ कांग्रेस’ चुनावी नारा नै बनाएका छन्। उनले कांग्रेस पार्टीका अगुवा कार्यकर्तालाई राजनीतिक विचारबाट दिक्षित गर्न पार्टी विधानअनुरुप राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका आदर्शहरु प्रति निष्ठावान बनाउने अभियान चलाउने बताएका छन्।
पार्टीभित्रको सांगठनिक ढाँचालाई वैचारिक यात्रासँग जोडने कार्यलाई तीव्रता दिने र यसको लागि कार्यक्रमहरु निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धतामा समेटेका छन्। कांग्रेसको चालु अधिवेशनलाई अन्तराष्ट्रिय समुदायले पनि चासोको साथ हेरिरहेको भन्दै कांग्रेसको अधिवेशन कांग्रेसजनको लागि मात्र नभइ सम्पूर्ण नेपाली समाज रुपान्तरणको प्रक्रिया भएको बताएका छन्।
नेता कोइरालाले आफ्नो विवेकको मत प्रयोग गरी मतदात गर्न आग्रह समेत गरेका छन्। कोइरालाको प्यानलबाट महामन्त्रीमा गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल छन्। यस्तै उपसभापतिमा धनराज गुरुङ र डा. चन्द्र भण्डारीले मनोनयनपत्र दर्ता गरेका छन्।
सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरी उम्मेदवार छन्।
कांग्रेसको नयाँ नेतृत्वको लागि सोमबार बिहान मतदान हुँदैछ। कांग्रेसको १४ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका १ सय ३४ पदका चुनाव हुन लागेको हो।
हेर्नुहोस् डा.कोइरालाको प्रतिबद्धता










प्रतिकृया दिनुहोस्