- २६ मंसिर २०७८, आईतवार ११:५७
नवलपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्दै जाने बताएका छन् । उनले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका हुन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ ।
‘अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ’, उनले भने, ‘आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।’
‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४ करोड
सरकारले यस वर्षदेखि घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम परीक्षणका रूपमा थोरै विद्यालयमा मात्र लागू हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने शिक्षा मन्त्रालयको तयारी छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको थियो । बजेट थोरै भएकाले यस वर्ष परीक्षण कार्यक्रमका रूपमा सञ्चालन गर्ने तयारी छ ।
१४ करोडको लगानीमा २५ देखि २८ विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सकिने अनुमान गरी शिक्षा मन्त्रालयले एउटा प्रदेशको तीन विद्यालय पर्ने गरी तयारी गरिरहेको छ । शिक्षा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव डा। तुलसीप्रसाद थपलियाले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनका लागि छलफल गरी मस्यौदा तयार भएको बताए ।
सहसचिव थपलियाले भने, ‘कार्यक्रमको मूल उद्देश्य विद्यार्थीको सिकाइलाई कमाइसँगै जोड्ने हो, कमाइ प्रधान होइन ।’ पढ्दै कमाउँदै कार्यक्रम प्राविधिक धारको कक्षा सञ्चालन गरेका विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिने गरी मस्यौदा बनेको छ । कतिपयले प्राविधिक धारबाहेकका विद्यार्थीलाई पनि कार्यक्रमले समेट्नुपर्ने धारणा राख्दै आएका छन् । विद्यार्थीलाई तालिम दिएर कमाउन सक्ने बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै ‘पढ्दै कमाउँदै’ शैक्षिक कार्यक्रम ल्याइएको घोषणा गरेका थिए । यस कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो पढाइको क्षेत्रसँग सम्बन्धित रोजगार तथा प्रयोगात्मक काम गर्न पाउनेछन् । अन्य विधामा अध्ययन गर्ने कक्षा १२ लाई उक्त कार्यक्रमले समेट्ने बताइएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब
चालू आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रममार्फत शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा केन्द्रित हुने उल्लेख छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १४ करोड पढ्दै कमाउँदै कार्यक्रममा खर्च हुनेछ । आर्थिक वर्ष ०७७/७८ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
गत आर्थिक वर्षमा ढिला गरी सुरु हुँदा कोरोना भाइरसका कारण कार्यक्रम सफल भएको थिएन । आर्थिक वर्ष ०७६/७७ का लागि पाँच अर्ब विनियोजन भएकामा पौने चार अर्ब खर्च हुन सकेन । अघिल्लो वर्ष कार्यक्रम कार्यान्वयनमा गएको छ ।










प्रतिकृया दिनुहोस्