- १३ आश्विन २०८०, शनिबार १९:३७
कास्की । शनिबार बिहान पोखराको लेकसाइड भरिभराउ थियो । बाजागाँजा र झाँकीसहित निस्किएको भारतीय पर्यटकको लस्करले लेकसाइडमा सवारी आवागमन ठप्प पारेको थियो । आन्तरिक पर्यटकलाई ओहोरदोहोर गर्न पनि हम्मे थियो ।
स्ट्रिट नम्बर १७ मझेरी रिसोर्टबाट निस्किएको र्याली हल्लनचोक हुँदै तालबराही मन्दिर पुगेको थियो । भारतीय धार्मिक पर्यटकको लर्कोले फेवाताल किनार पनि भरिभराउ थियो । तालमा डुंगा सयर गर्दै उनीहरुले तालबराही मन्दिरको दर्शन गरे । करिब ७ सय जनाको संख्यामा रहेकाको टोली पहिलो पटक शुक्रबार पोखरा आएको हो । पर्यटकीय सिजनमा भारतीय पर्यटक बढी आउने भए पनि यत्तिका धेरै संख्यामा एकैपटक आएको पहिलो भएको मझेरीका अध्यक्ष पर्यटन व्यवसायी अर्जुन खनाल दाबी गर्छन्।
गुजरातबाट निलकण्ठवर्णी स्मृतियात्रामा एकैसाथ धेरै जना धार्मिक पर्यटक नेपाल आएका हुन् । उनीहरु मंगलबार काठमाडौं आइपुगेका थिए । हवाई र सडकमार्ग हुँदै काठमाडौं आएका ती पर्यटकले काठमाडौंको पशुपतिनाथ, ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुरको दरबार स्क्वायर लगायतका मठमन्दिरसँगै ऐतिहासिक गन्तव्यमा घुमघाम गरे ।
शुक्रबार पोखरा आएका उनीहरुले शनिबार बिहानै अन्नपूर्ण केबुलकार चढेर सराङकोट पुगे । त्यसपछि तालबाराही मन्दिरको दर्शन गरे । शनिबार साँझ ती पर्यटकले तालबराही मन्दिर (फेवा किनार) मा आरती हेरे । आइतबार मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने कार्यक्रम रहेको भ्रमण व्यवस्थापन गरिरहेको नेबिरा होलिडेजका प्रबन्धक राजु अधिकारीले बताए । उनका अनुसार तीर्थालु लिएर करिब एक सय वटा स्कार्पियो गाडीहरु मुस्ताङ जानेछ । केही तीर्थालु हवाई उडानमार्फत जानेछन् भने कोही बसमा जाने कार्यक्रम छ ।
पोखरा फर्किएसँगै दुई दिन घुमघाम गर्नेछन् । पुम्दीकोट, विश्वशान्ति स्तुप, पाताले छाँगो, गुप्तेश्वर महादेव मन्दिर, विन्ध्यावासिनी मन्दिर, सेती गर्ज लगायतका गन्तव्य पुर्याउने तालिका छ । ‘पोखराको घुमघामपछि भैरहवा हुँदै भारत फर्कनुहुनेछ‚’ नेबिराका प्रबन्धक अधिकारीले भने । एकसाथ भारतीय पर्यटक आउनुलाई मास टुरिजमको सुरुवात भएको व्यावसायी बताउँछन् । ‘भूकम्पपछि कोरोनाले व्यवसायीलाई थला पारेको थियो‚’ अर्जुन खनाल भन्छन्, ‘सुनसान पोखराको पर्यटनमा धार्मिक पर्यटकले आशा दिलाएका छन् । उहाँहरुलाई पोखरा ल्याउनको लागि चार महिनादेखी तयारी गरेका हौं ।’
भ्रमणमा ६ सय ३० जना योगी छन् भने अन्य सहयोग, चालकसहित करिब ७ सय संख्या छ । स्वामी जितेन्द्रिय प्रियदासजीले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताए । उनले भने, ‘आफ्नै ठाउँ घुम्न आएका हौं । मुक्तिनाथ हाम्रो आस्था हो । हामीले धार्मिकरुपमा सम्मान गर्छौ ।’ भारतबाट आउने धार्मिक पर्यटक मुक्तिनाथकै कारण आउने गरेको उनले बताए ।
भारतीय स्वामीहरु भ्रमणमा आएकाले धार्मिक पर्यटक बढ्ने अपेक्षा खनालको छ । ‘यो संख्याले सुनसान पोखरालाई जगाएको छ‚’ उनले थपे, ‘धार्मिक पर्यटनबाट आर्थिक गतिविधि कसरी बढाउन सकिन्छ ? नेपालको आर्थिक अवस्थालाई कसरी उकास्न सकिन्छ भनेर गरिएको अभ्यास हो ।’ यो समूहको भ्रमणले स्वामीनारायणप्रति आस्था राख्ने भारतीय धार्मिक पर्यटक नेपाल भित्र्याउन सहज भएको उनले बताए । पछिल्लो समय पोखरा र मुक्तिनाथ भ्रमणमा आउने पर्यटकीय पर्यटकको संख्या बढ्दो छ । वैशाख-जेठताका अफ सिजनको बेला पनि गर्मी छल्न आउने पर्यटकको लर्कोले पोखरा चहलपहल थियो ।
सिजनको सुरुवातमा तेस्रो मुलुकका पर्यटक छिटपुट आउँदा भारतीय पर्यटक एकैपटक ७ सय बढी आएपछि पर्यटन व्यवसायीलाई आशावादी बनाएको मझेरीका अर्का व्यावसायी दुर्गा पाण्डे बताउँछन् । ‘अधिकांश भारतीय पर्यटक सडकमार्ग हुँदै आउने हुन्‚’ उनी भन्छन्, ‘पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डको स्तरोन्नतिको काममा भएको ढिलाइले भने नकारात्मक सन्देश फैलने त्रास छ ।’ सिद्धार्थ राजमार्गको अवस्था पनि यातायात आवागमनका लागि सुधार गर्नुपर्ने रहेको उनले बताए ।
भैरहवा हुँदै सिद्धार्थ राजमार्गबाट भारतीय पर्यटक बढी आउने उनले बताएका छन् । विश्व हिन्दु महासंघका अध्यक्ष शंकर खरालले पोखरामा वार्षिक ५० लाख धार्मिक पर्यटक ल्याउन समस्या नरहेको दाबी गरे । उनले स्वामीनारायणले धर्मको मात्र नभई सामाजिक र शैक्षिक क्षेत्रमा पनि लगानी गरेको बताए । जितेन्द्रिय प्रियदासजीले केही महिनाअघि मुस्ताङमा आएको हिम पहिरोले धार्मिक क्षेत्रमा पुर्याएको असरबारे अनुगमन गरेर आर्थिक सहयोग पनि गरिने बताएका छन् ।










प्रतिकृया दिनुहोस्